राष्ट्रिय भेट्रान्स फुटबलको उपाधिमा नागस्वतीको ह्याट्रिक

साझाकुरा
२०८१ मंसिर ९, आईतवार १२:४९

हेटौंडा- हेटौंडामा जारी तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वाती आफैंले जितेको छ । नागस्वतीले लगातार तीनवटै संस्करणको उपाधि जितेको हो ।हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित जनज्योतिम माविको खेलमैदानमा शनिवार भएको फाइनलमा नागस्वतीले जोरपाटी भेट्रान्स काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि घर बाहिर जान दिएन । नागस्वती र जोरपाटीले निर्धारित समयमा १–१ गोलको बराबरी खेल खेलेका थिए । यो उपाधि जितेसँगै नागस्वतीले प्रतियोगितामा ह्याट्रिक गरेको हो ।

नागस्वतीले उपाधिसँगै नगद २ लाख १ हजार पाउँदा र उपविजेता जोरपाटीले एक लाख १ हजार नगद, शिल्ड, मेडलमा चित्त बुझाएको छ । खेलको ३९ औं मिनेटमा नागस्वतीका लागि मिलेन्द्र देवानले पहिलो गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा जोरपाटीले त्यसको ७ मिनेटमै खेल बराबरीमा ल्यायो । जोरपाटीका लागि ४६ औं मिनेटमा निमा लामाले गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा नागस्वतीबाट मिलेन्द्र देवान, दिलिप छेत्री (गोलरक्षक), बिक्रम श्रेष्ठ र निमा लामाले गोल गरे । जोरपाटीबाट राकेश लामा, निमा लामा र रञ्जित लामा मात्रै गोलगर्न सके । फाइनल खेलको म्यान अफ दी म्याच नागस्वतीका गोलरक्षक दिलिप क्षेत्री घोषित भएका छन् ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नागस्वतीका सन्तोष बस्नेत बने । उनले नगद ५० हजार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट फर्वाड जोरपाटीका सुरज सुवेदी, उत्कृष्ट गोलरक्षक नागस्वतीका क्षेत्री, उत्कृष्ट डिफेन्डर मिलन राई, उत्कृष्ट मिडफिल्डर राजकुमार घिसिङ, उत्कृष्ट स्कोरर (धेरै गोल गर्ने) मिलेन्द्र देवान, उत्कृष्ट प्रशिक्षक भीम श्रेष्ठ घोषित भएका थिए । विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगद प्रदान गरिएको थियो ।

उपाधि विजेता, उपविजेता, विधागत उत्कृष्ट खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले पुरस्कार प्रदान गरे । समापन कार्यक्रमका प्रमुखअतिथि रहेका लामाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको भन्दै आगामी प्रदेशस्तरीय खेलमा भेट्रान्स खेलाडीका लागि पनि प्रतियोगिता आयोजनाको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्चराख्न सहयोग पुग्ने अपेक्ष लिएको आयोजक नागस्वती क्लबका अध्यक्ष सोमबहादुर तितुङ्ले बताए ।

नागस्वती भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडी सहभागी थिए । अधिकांश पूर्वराष्ट्रिय फुटबरहरु पनि खेलेका थिए । प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबले सहभागित जनाएका थिए । समापन कार्यक्रममा हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतम, ८ नम्बर वडाका अध्यक्ष राम थापा, ६ नम्बर वडाका अध्यक्ष बिष्णुप्रसाद दाहाल, ९ नम्बर वडाका अध्यक्ष शुकराम केसी, जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामालगायतको अतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*