करातेमा चित्लाङलाई ७ स्वर्ण
हेटौंडा- मकवानपुर जिल्ला कराते महासंघको आयोजनामा हेटौंडामा भएको जिल्लास्तरीय कराते च्याम्पियनसीप प्रतियोगितामा थाहा नगरपालिका चित्लाङका खेलाडीले ७ स्वर्णपदक जितेका छन् ।चित्लाङ प्रतियोगिताको च्याम्पियन पनि बनेको छ । थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानले दिएको जानकारी अनुसार थाहाका खेलाडीले सात स्वर्ण, तीन रजत र एक कास्यपदकसहित जिल्ला प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा चित्लाङका खेलाडी भूमिका बलामीले महिला काँतातर्फ स्वर्णपदक हात पारिन भने पुरुषतर्फ इनेश बलामीले कास्यपदक प्राप्त गरे । फाइटतर्फ इनेश बलामी, करुण गमाल, अर्जुन गमाल, सलिम गमाल, राज ब्लोन र निरज योन्जनले स्वर्ण जिते । सुशील रुम्बा, सौरभ जिम्बा र संगीता मोक्तानले रजतपदक पाउँदा भूमिका बलामीले कास्यपदक जितिन् ।
जिल्ला कराते महासंघको आयोजनामा पेमा लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहाकै करुण गमाल हुन सफल भएका थिए । प्रतियोगितामा चित्लाङबाट रोशन बलामी र सम्राट बलामी प्रशिक्षक थिए ।