मेयर कप कराते प्रतियोगिताको तयारी पूरा
हेटौंडा- नेपाल सितोरियो कराते संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा हुन लागेको प्रथम जिल्लास्तरीय मेयर कप खुल्ला कराते प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।मंसिर १४ र १५ गते हेटौंडामा आयोजना हुने कराते प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले गर्ने भएकी छिन् ।
दुई दिन आयोजना हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह, सम्पूर्ण काता प्रतियोगिता र महिलाको कुमुते प्रतियोगिता हुनेछ भने दोस्रो दिन पुरुषको कुमुते प्रतियोगिताका सम्पूर्ण खेल, महिला र पुरुषको फाइनल प्रतियोगिता तथा कार्यक्रम समापन हुने नेपाल सितोरियो कराते संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष दीपकबहादुर लामाले बताए ।
तौल समूह अन्तर्गत पुरुषतर्फ २५, ३०, ३५, ४२, ४७, ५२, ५७, ६२, ६७ केजी र महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। मकवानपुर जिल्लामा रहेका १५ वटा डोजोका ३ सय १५ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा एक डोजोबाट कुमिते पुरुष ९ जना, कुमिते महिला ८ जना, काता महिला र पुरुष २ जना, टिम कोच र मेनेजर गरी २ जना गरी २१ जनाले सहभागिता जनाउने अध्यक्ष लामाले बताए ।
आयोजकले प्रत्येक खेलाडीलाई खाना र बस्नको व्यवस्था मिलाएको जनाएको छ । प्रतियोगिताको लागि लाइसेन्स होल्डर स्थानीय १० जना र बाहिरका २० जना गरी ३० जना रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्ने उनले जानकारी दिए । प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई नगदको व्यवस्था गरेको आयोजकले जनाएको छ ।