हेटौंडाले जित्यो चितवन रत्ननगर मेयर कप
हेटौंडा- पूर्वीचितवनको रत्ननगरमा भएको तेस्रो अन्तरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ ।शनिवार भएको फाइनल खेलमा हेटौंडाले आयोजक रत्ननगर नगरपालिकालाई २–१ गोलअन्तरले हराउँदै २ लाख ११ हजार राशीको उपाधि जितेको हो । हेटौंडा र रत्नगरले पहिलो हाफ बराबरी खेलेका थिए । दोश्रो हाफमा फ्रिकिक प्रहारबाट खेलको ४४औं मिनेटमा समुयल सुनारले गोल गर्दै हेटौंडालाई अग्रता दिलाए । खेलको ५४औं मिनेटमा पेनाल्टीमार्फत रोशन दोङले गोल गर्दै हेटौंडाको अग्रता दोब्बर बनाए । डिबक्सभित्र खेलाडीलाई फाउल हानेपछि हेटौंडाले पेनाल्टीको अबसर पाएको थियो ।
दोश्रो हाफमा रत्ननगरका रोशन दोङले गोल गरे । उपविजेता बन्दै रत्नगरले १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल हात पारेको छ । फाइनल खेलको म्यान अफ दी म्याच हेटौंडाका समुयल सुनार भएका छन् । रोशन दोङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।फाइनल खेलमा खेलाडीको हौसला बढाउन हेटौंडा नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, १९ नम्बर वडाका वडाध्यक्ष नरनाथ सुवेदीलगायतका जनप्रतिनिधि शनिबार रत्ननगर पुगेका थिए । हेटौंडाकी नगरप्रमुख लामाको प्रमुख अतिथ्यतामा प्रतियोगिताको समापन भएको थियो ।नेपाल माविको खेल मैदानमा जारी प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीको एउटा पालिका गरी १० वटा टिमले सहभागिता जनाएको थियो ।