बकैया गोल्डकप : सिनियरतर्फ वडा नं. ३ र जुनियरतर्फ ११ लाई उपाधि
हेटौंडा-छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सिनियर र जुनियर दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा सिनियरतर्फको उपाधि ३ नम्बर वडा र जुनियरतर्फ ११ नम्बर वडाले जितेको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर ९ लाई ५–० गोलले हराउँदै ३ नम्बरले प्रतियोगिताको उपाधि हात पारेको हो । तीन नम्बरको जितमा आयुष नेगिले ह्याट्रिक गरे । यस्तै अन्जन गोले र सुजन गुरुङले एक–एक गोल गरे । सिनियरतर्फ ३ नम्बरका सुजन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उत्कृष्ट गोलरक्षक ३ नम्बरकै सरोज भुलन, डिफेन्डर अन्जन गोले, सर्वाधिक गोलकर्ता आयुष नेगी र उत्कृष्ट प्रशिक्षक विश्वराज लामिछाने घोषित भए । उदयमान खेलाडी ५ नम्बरका करण रानामगर, उत्कृष्ट मिडफिल्डर ९ नम्बरका विशाल भोलन र स्टाइकर अभिषेक भोलन घोषित भए । सर्वोत्कृष्टले ५ हजार र अन्य जनहीले ३–३ हजार रुपैयाँ प्राप्त गरेका छन् । जीतसँगै वडा नं. ३ ले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ९ नम्बरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै जुनियरतर्फ वडा नं. वडा नम्बर २ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै ११ ले उपाधि जितेको हो । निर्धारित खेल समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जितसँगै ११ नम्बरले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता २ नम्बरले २५ हजार रुपैैयाँमा चित्त बुझाएका छन् । विजेता ११ नम्बरले सातौं संस्करणको बकैया कपमा सिनियरतर्फबाट सहभागी हुनेछ ।
जुनियरतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ११ नम्बरका सुबास लो घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक ११ का सुजन लो, उत्कृष्ट डिफेन्डर २ का चस्मेलाल स्याङतान, मिडफिल्डर २ का मनोज स्याङतान, फरवार्ड ११ का निखिल घलान, सर्वाधिक गोलकर्ता ११ का धनबहादुर न्यासुर, उदयमान खेलाडी ११ का सुबास लुङबा र उत्कृष्ट प्रशिक्षक ११ का दीर्घबहादुर लामा घोषित भए । विधागत उत्कृष्टले जनही ३–३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आयोजकले पत्रकार दिक्षान्स खड्कालाई ५ हजार रुपैयाँसहित खेल पत्रकार पुरस्कार प्रदान गरेको छ । बकैया खेलकुद विकास समितिका संयोजक विजय लामाथिङको सभाध्यक्ष तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापनमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैयाका उपाध्यक्ष भक्तबहादुर खत्री, वडाध्यक्षहरु र विभिन्न राजनीतिक दलका पदाधिकारीको आतिथ्यता रहेको थियो ।







