शोणितपुरले जित्यो तेक्वान्दो प्रतियोगिताको उपाधि
हेटौंडा-हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि शोणितपुर डोजाङ काठमाडौंले हात पारेको छ । प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले उपाधि जितेको हो । प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित दोस्रो भएको छ । चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित तेस्रो स्थानमा हासिल गरेको छ ।
प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । विजेताहरुलाई हेटौंडा उपमहानगरपालिका–१७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । शुक्रबारदेखि हेटौंडा–१७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा कूल ४० विधामा १८ टोलीका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए ।







