जनज्योति माविमा भूपिनको उपन्यास र कवितामाथि विमर्श

साझाकुरा
२०८१ फाल्गुन ३, शनिबार १३:१२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१४ मा रहेको जनज्योति माविका विद्यार्थीले कवि तथा उपन्यासकार भूपिनको कृतिमाथि विमर्श गरेका छन् ।भूपिनको उपन्यास मैदारो र कक्षा ९ को नेपाली विषयमा रहेको कविता ‘आमाको तस्बिर’ माथि विद्यार्थीले छुट्टाछुट्टै बहस तथा अन्तरक्रिया गरेका हुन् । साहित्यकार भूपिनकै उपस्थितिमा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले मैदारो उपन्यासको कथानक, पात्र विधान, परिवेश र उद्देश्यमाथि चर्चा गरेका थिए । विद्यार्थीहरु ईशा परियार, काजल थापा, सीताखड्का र नमूना खत्रीले उपन्यासको विभिन्न पक्षमाथि आफ्नो धारणा राखेका थिए ।

भूपिनले नेपाली समाजमा रहेको चरम जातीय विभेद र भेदभावको पक्षलाई उजागर गर्दै त्यसको विरुद्धमा कलम चलाइएको बताए । उपन्यासको मुख्य पात्र नदीन चार वर्षसम्म भीरमा अड्किएको दृश्य नेपाली समाजको दलितहरुले भोग्नुपरेको नियतीको प्रतीक रहेको भूपिनले प्रष्ट्याए । भूपिनले कवितामार्फत आफूले वैदेशिकरोजगारीको कारणले नेपाली युवायुवतीले भोग्नुपरेको मानसिक पीडाको उजागर गर्न खोजिएको बताए ।

प्रचलित पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिम गर्नुपर्ने आन्तरिक मूल्यांकनको लागि जनज्योति माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गरेको हो । कक्षा १२ की छात्रा रोजिना तामाङले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद पौड्यालले अन्तरक्रियाको सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुंगाना, प्रधानाध्यापक भोगेन्द्र लुइँटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*