एसईई आजदेखि सुरु मकवानपुरमा ७ हजार बढी विद्यार्थीले परीक्षा दिने

हेटौंडा-माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु हुँदैछ । बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैग्री चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवम् संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।
यसपटक मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । परीक्षामा नियमित तर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले सहभागिता जनाउन लागेका हुन् । यसवर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा दिँदैछन् । परीक्षाको लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिएका छन् । गतवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएको मकवानपुरमा यसवर्ष कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परीक्षा केन्द्र थपिएको प्रमुख गिरीले बताए । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा परीक्षा केन्द्र कायम भएको प्रमुख गिरीले बताए ।
कैलाश गाउपालिकाले एसईई दिने विद्यार्थीको लागि आवाशीय व्यवस्था गरेको छ । गाउपालिकाको लगानीमा पालिकाबाट एसईई परीक्षामा सहभागी हुने १४९ जना नियमित र ६७ जना ग्रेडबृद्धिका लागि सहभागी हुने २१६ जना विद्यार्थीको लागि खाना तथा बस्ने व्यवस्था गरेको हो । हेटौंडाको श्रमिक माविमा प्राविधिक धार तर्फका विद्यार्थीका लागि मात्रै केन्द्र तोकिएको छ । उनका अनुसार सबै स्थानीय तहमा केन्द्राध्यक्षलाई प्रशिक्षण दिएर खटाइएको छ । एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको प्रमुख गिरीले जानकारी दिए । प्रमुख गिरीले टाढा रहेका सबै पालिकामा प्रश्नपत्र र उत्तर पुस्तिका पुगिसकेको जानकारी दिइएको छ ।
लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।