मध्यपृतनापति ट्रफीको उपाधि ७ नम्बर बाहिनीलाई

साझाकुरा
२०८२ बैशाख ९, मंगलवार १०:५४

हेटौंडा- मध्यपृतनापति ट्रफी–२०८२ को उपाधि मकवानपुरको चनवनस्थित ७ नम्बर बाहिनीले जितेको छ । बैशाख १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको विभिन्न ८ विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर बाहिनीले उपाधि हात पारेको हो । प्रतियोगिताको अन्तिम दिन सोमबार सुपारेटार ब्यारेकस्थित मैदानमा आयोजित समापन कार्यक्रममा पृतनापति हरेन्द्र पाठकले च्याम्पियन बन्न सफल बाहिनीका बाहिनीपति कमल बानियाँलाई ट्रफी प्रदान गरेका हुन् । ७ नम्बर बाहीनीले फुटबल, भलिवल, एथ्लेटिक्स, तेक्वान्दो तथा जुडो खेलतर्फ उत्कृष्ट नतिजा ल्याएको थियो । यस्तै, बाहिनीपति ट्रफी २०८२, ६ नम्बर बाहिनीअन्तर्गत शेर गण र ७ नम्बर बाहिनीअन्तर्गत गोरखबहादुर गणले जितेका छन् ।

प्रतियोगिताअन्तर्गत फुटबलतर्फ उत्कृष्ट अंक प्राप्त गरी गोरखबहादुर गणले फुटबल च्याम्पियन ट्रफी प्राप्त गरेको छ । गोरखबहादुर गणले सोमबार बिहान भएको फाइनल खेलमा नयाँ सबुज गणलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, जुडो, एथ्लेटिक्स र स्वीमिङ गरी ८ वटा विधाका खेल सञ्चालन भएका थिए । कार्यक्रममा प्रमुखअतिथि मध्यपृतना मुख्यालयका पृतनापति उपरथी हरेन्द्र पाठकले उत्कृष्ट खेल प्रतिभाको खोजी गरी राष्ट्रिय खेलकुदमा स्थापित गर्ने र प्रधानसेनापति ट्रफी २०८२ का लागि योग्य खेलाडी छनोट गर्ने उद्देश्यले मध्यपृतनापति ट्रफी आयोजना गरिएको बताए ।

यस पृतनाले नेपाली सेनाले हरेक वर्ष संचालन गर्ने प्रधानसेनापति ट्रफीमा पाँच पटकसम्म प्रथम स्थान हासिल गर्न सफल भएको छ भने चारपटक द्वितीय स्थान हासिल गरेको छ । नेपाली सेनाका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*