निषेधित क्षेत्र तोड्ने क्रममा शिक्षक र प्रहरीबीच झडप

साझाकुरा
२०८२ बैशाख १५, सोमबार १०:३७

हेटौंडा- बिगत २६ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुले निषेधितक्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । दिउँसो बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण देखियो । प्रहरीले शिक्षक माथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । प्रत्यक्षदर्शी शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे ।

नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षकमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको थियो । जवाफमा शिक्षकहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा गरेका छन् ।

यसबीच शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भएपनि सहमति जुट्न सकेको छैन । सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ । शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् । डा. श्रेष्ठका अनुसार चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागसम्म चाहिँ देखिएको छ । तर, त्यसपछि रेटिनाको अवस्था कस्तो छ ? भनेर हेर्न सकिएको छैन,’ उनले भनिन् ।आँखामा रगत पनि जमेको छ । आँखाभित्र रगत जमेकोले गर्दा भिजन (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर बढेको छ,’ डा. श्रेष्ठ भन्छिन् । उनका अनुसार अहिले औषधि सुरु गरिएको छ । रगत जमेको अवस्था कम भएपछि बल्ल हेर्न सकिन्छ ।

यसैबीच नेपाल शिक्षक महासंघले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा सरकारले गर्नुपर्ने ९ वटा निर्णय सार्वजनिक गरेको छ ।

१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने ।

२) राहत, अस्थायी÷करार, साविक उमावि, सिकाइअनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकमअवकाशको बखत एकमुष्ट प्रदान गर्ने ।

३) प्रारम्भिक बालविकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदारसरह दरबन्दी कायम गर्ने सोपदबमोजिम (प्रतिमहिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रतिमहिना रकम २६,०८२ उपलब्ध गराउने । यो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।

४) आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड संख्या कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गमभत्ता पाउने व्यवस्था गर्ने साथै बिरामी विदा (४५ दिने)मा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने ।

६) संस्थागत विद्यालयका शिक्षक÷ कर्मचारी र सामुदायिक विद्यालयका निजीस्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकसँगै राख्ने ।

८) निम्नमाध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने ।

९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक÷ शिक्षक÷कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने ।

यसमा तपाइको मत

Your email address will not be published.


*