निजीकरणको प्रक्रियामा हेटौंडा सिमेन्ट

जायजेथा बेचेर उद्योग चलाउने प्रयास गर्दै हेटौंडा सिमेन्ट उद्योग अगाडि बढेको अवस्थामा बर्तमान सरकारले निजीकरणमा लैजाने तयारी थालेको छ । हेटौंडा सिमेन्ट उद्योग सहित ७ वटा उद्योगलाई निजीकरणमा लैजाने गृहकार्य थालेको हो । हेटौंडा सिमेन्ट उद्योग सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको थियो । उद्योगको सम्पत्ति नै बिक्री गरेर उद्योग चलाउनुपर्ने अवस्थामा पुगेको सिमेन्ट उद्योग निजीकरणमा लैजाने सरकारी निर्णयको बिरोधमा नागरिक समाज उत्रिएको छ ।
नागरिक आन्दोलनबाट हेटौंडा सिमेन्टको निजीकरणको बाटोबाट जोगाउन कति सहज होला ? यसरी सरकारी स्वामित्वको उद्योग चल्दैन भन्ने निष्कर्षमा पुगेको बर्तमान सरकारले उद्योगको दायित्वबाट पनछन निजीकरणको सहारा लिन खोजेको देखिन्छ । हेटौंडा–९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बिक्री गरेको थियो । उद्योग प्रशासनले बाराको लिपनीमालस्थित पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित चार करोड २५ लाख रुपैयाँमा रोप–वे बिक्री गरेकोथियो । रोप–वे बिक्री गर्ने विषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगलेजानकारी दिएको छ ।
उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायत फलामजन्य सामान बिक्री गरिएको भनाइ छ । लामो समयदेखि बन्द रहेको रोप–वे पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नभएपछि बिक्री गरिएको उद्योगले जनाएको छ । १० करोड रुपैयाँमा जडान गरिएको रोप–वे बिक्री गर्दा करिव साढे चार करोड रुपैयाँ मात्र आम्दानी भएको हो । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नु पर्ने सहमतिअनुसार उद्योगले पहिलो किस्ताबापतको एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँ प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नु पर्ने सहमति भएको छ ।
रोप–वे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चापदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको उद्योगले जानकारी दिएको हो । लामो समयदेखि बन्द भएर प्रयोगमा नआएकाले रोप–वे बिक्री गरेको र बन्द अवस्थामा रहेको रोप–वेको टावर, तार र बकेट गरी करिब १५ सय मेट्रिकटन फलाम रहेको अनुमान गरिएको छ । वर्षौँदेखि सञ्चालन हुन नसकेको रोप–वेका कारण मानवबस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको थियो । उद्योगको रोप–वे का डब्बाहरु हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैँसे खानीसम्म तारमा झुन्डिरहेको अवस्थामा रहेको देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाले मानवबस्ती नै जोखिममा पारेको थियो । हेटौंडा सिमेन्ट उद्योगले खानीक्षेत्रबाट चुनढुंगा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो ।
उद्योगले २०४२ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याइएको हो । प्रतिघण्टा ३ सय मेट्रिकटन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको सुरुमा १६५ वटा बकेट (क्यारियर) रहेको थियो । रोप–वे बिग्रिएपछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी रहेको छ ।
विगतमा यातायातका साधनको सुविधा नहुँदा उद्योगको चुन ढुंगाखानीबाट ढुंगा ओसार्नको लागि रोप–वे को प्रयोग भएको थियो । तर, पछिल्लो चरण यातायातको साधनको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वेबाट चुनढुंगा ल्याउन बन्द गरेको हो । २०६२ सालदेखि रोप–वे पूर्णरुपमा बन्द रहेको उद्योगले जनाएको छ । रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि चुनढुंगा लोर्ड गरिएको अवस्थामा रहेको छ । २०६० सालमा आएको बाढीपहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पु¥याएपछि पूर्णरुपमा बन्द भएको थियो ।