सुरक्षित पानीको महत्व

पानी बिनाको जीवन सम्भव हुँदैन । पानीले नै जीवनको रक्षा गर्दछ । जन्मपछि ६ महिनासम्म शिशुलाई पानीको आपूर्ति आमाको दूधबाट नै हुन्छ । किनभने, आमाको दूधमा पौष्टिक तत्वबाहेक ८० प्रतिशतभन्दा बढी पानीको मात्रा हुन्छ । बालबालिकालाई ६ महिना पुगेपछि पूरक खाना र पानीको आवश्यकता हुन्छ । ६ महिनापछि पानीको आपूर्ति आमाको दूध, गाई–भैँसीको दूध, दाल आदिबाट हुने गर्दछ । यसको साथै उनीहरूको शरीरलाई आवश्यक पानी पनि पिउन दिनुपर्दछ ।
पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अ·हरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अ·हरू जस्तैः मस्तिष्क, मुटु, फोक्सो, किड्नी, आँखाको सञ्चालनका लागि पनि पानीे आवश्यक हुन्छ । बालस्वास्थ्य विज्ञहरूकाअनुसार मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एकदेखि साढे एक लिटर) पानी पिउनुपर्नेे हुन्छ । बिरामी र झाडापखाला लागेमा बढी झोल पदार्थ र पानी पिउन दिनुपर्दछ । बालबालिकालाई सुरक्षित पिउने पानी दिनुपर्छ ।
पानी ना·ो आँखाले हेर्दा सफा भएपनि दूषित हुनसक्छ । यसमा आँखाले नदेखिने हानिकारक जीवाणुहरू हुन सक्छन् । यी जीवाणुले शिशु, बालबालिकालाई छिट्टै र बढी असर गर्दछ । त्यसैले दूषित पानी पिउनु हुँदैन । विशेषगरी धमिलो, गन्ध आउने, रङ भएको पानी बढी दूषित हुन सक्छन् । दूषित पानीमा विषाणु, कीटाणु र परजीवीहरू, रसायन, मलमूत्र आदि मिसिएको हुन्छ । पानी पिउँदा यस्ता जीव र वस्तुहरूसमेत पिइन्छ । यसको असर आन्द्रा, रगत र अन्य अ·हरूमा पर्दछ । पानीबाट झाडापखाला, जुका, आउँ, टाइफाइड, जन्डिस, आदि हुन्छ भने हानिकारक रसायन भए दीर्घकालमा छाला, फोक्सो तथा मुत्रासयको क्यान्सरसमेत हुन सक्छ ।
पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले पनि गर्नुपर्दछ । शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नुअघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा (कप, गिलास, चम्चा आदि) सफा गर्नुपर्दछ । पानीलाई उमालेर, छानेर, क्लोरिन औषधी हालेर, सोडिस (पानीलाई सफा पारदर्शी प्लाष्टिकको बोतलमा हाली चहकिलो घाममा राखी सौर्य उर्जाद्वारा शुद्धीकरण विधि) गरेर शुद्धीकरण गर्न सकिन्छ । यी विधिहरुमध्ये आफू अनुकूल विधि प्रयोग गरी पानी शुद्धीकरण गरेर पिउने गर्नाले रोग लाग्न सक्ने सम्भावना कम हुन्छ । वर्षात्संगै पानीबाट सर्ने रोगबाट बच्न सबैले ध्यान दिनु जरुरी छ ।