हेटौंडामा शनिबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता

हेटौंडा-नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । प्रतियोगिता असार ७ गते शनिबारदेखि ११ गतेसम्म सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेशलगायत ७ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । स्केटिङ प्रतियोगितामा १२ वर्षमुनिका र १२ वर्षमाथिका महिला तथा पुरुष गरी ४ विधामा करिब १५० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
भलिबलतर्फ प्रथमलाई ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई १ लाख र सान्त्वनालाई ५१ हजार प्रदान गरिने नेकोस काठमाडौंका अध्यक्ष अनिलकुमार रिजालले जानकारी दिएका छन् । यस्तै स्केटिङतर्फ प्रथम हुनेलार्ई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । दुबै प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान आयोजकले गरेकोे छ ।
भलिबल प्रतियोगिता असार ७ गते शनिबार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटन हुनेछ भने स्केटिङ प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजे हेटौंडा–५, पुष्पलाल रोडस्थित स्केटिङ पार्कमा सञ्चालन हुने जनाइएको छ । आयोजकका अनुसार दुबै प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा हुनेछ । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह असार ११ गते हेटौंडाको हुप्राचौरमा आयोजना गरिनेछ ।