एसईई नतिजा सुधार, ४६.८६ प्रतिशत विद्यार्थी ग्रेडेड

साझाकुरा
२०८२ असार १५, आईतवार ११:२७

हेटौंडा-मकवानपुर जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षको तुलनामा सुधारोन्मुख देखिएको छ ।यसवर्ष ४६ दशमलब ८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गतवर्षको तुलनामा १० दशमलव ३९ प्रतिशतले बढी हो । गतवर्ष ३६ दशमलव ४७ प्रतिशत ग्रेडेड भएका थिए । यद्यपि, मकवानपुरको नतिजा राष्ट्रिय नतिजा भन्दा कमजोर रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार यसवर्ष एसईईमा ५ हजार ८ सय ८७ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ हजार ७ सय ५९ जना ग्रेडिङमा परेका छन् ।

३ हजार १ सय २८ जना विद्यार्थी ननग्रेडेड सूचीमा छन् । यसवर्ष जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्यामा पनि वृद्धि भएको छ । गतवर्ष एक जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएका थिए भने यस वर्ष ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा हेटौंडा–४ स्थित नवोदय शिशुसदनका विमर्श श्रेष्ठ र अनुषा उप्रेती, हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी अनुप्रस्था देवकोटा, हेटौंडा–५ स्थित बालज्योति माविकी अस्मिता घिमिरे र हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचिनकुमार यादव रहेका छन् ।

यसवर्षको एसईईमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ३ सय ७८, ३ दशमलव २ जीपीएदेखि ३ दशमलव ६ जीपीए ल्याउने ८ सय २ विद्यार्थी रहेका छन् । यस्तै, २ दशमलव ८ जीपीएदेखि ३ दशमलव २ जीपीए ल्याउने ९ सय ८१ जना रहेका छन् । २ दशमलव ४ जीपीएदेखि २ दशमलव ८ जीपीए ल्याउने५ सय ३९ र २ जीपीएदेखि २ दशमलव ४ जीपीए ल्याउने ५४ जना विद्यार्थी रहेको इकाईले सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*