शिक्षा विधेयकप्रति आपत्ती, शिक्षक महासंघले आन्दोलन चर्काउने
हेटौंडा-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकप्रति आपत्ती जनाउँदै हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।शिक्षक महासंघको अगुवाइमा ७५३ वटै पालिकामा शुक्रबार ध्यानाकर्षणपत्र बुझाइएको हो । मनहरी गाउँपालिकामा महासंघ प्रतिनिधि राधिका हमाल, शिक्षक संघका पालिका अध्यक्ष सुशील गौतमको नेतृत्वमा गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । महासंघले उठाएका शिक्षकका मुद्दालाई प्रस्ताबित शिक्षा बिधेयकमा समाबेश नगरिएको भन्दै महासंघले चरणबद्ध आन्दोलनका चेतावनी दिएको छ । यसैसाता आन्दोलनको थप कार्यक्रम घोषणा हुने बताइएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नेपाल शिक्षक संघकी अध्यक्ष मन्दिरा कुँयाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष विष्णुहरि गौतम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका किरणकुमार रेग्मी, राहत शिक्षक समिति अध्यक्ष रत्नबहादुर स्याङ्तान, विद्यार्थी कर्मचारी परिषद्का पुरुषोत्तम ढकाललगायतको टोलीले शुक्रबार नगरप्रमुख लामालाई ध्यानाकर्षणपत्र बुझाएको हो । सरकारले विगतमा भएको ३०, ५१ र ६ बुँदे सहमतिलाई बेवास्ता गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता गरेको भन्दै महासंघले आपत्ती जनाएको छ ।
ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले वर्तमान विधेयक शिक्षकमैत्री नभएको स्पष्ट पारेको छ । यसैक्रममा महासंघले तीन महिना लामो आन्दोलनपश्चात वैशाख १७ गते भएको ९ बुँदे सहमति र त्यसका आधारमा गरिएको लिखित प्रतिबद्धता समेत कार्यान्वयन नभएको आरोप लगाएको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा केही सहमतिको झल्को भएपनि शिक्षक–कर्मचारीका प्रमुख सरोकार र विगतका सहमतिका बहुसंख्यक बुँदा समावेश गरिएको छैन ।’
महासंघले अस्थायी शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धाको सुनिश्चितता, ‘गोल्डेन हेन्डसेक’ योजनाको स्पष्ट व्यवस्था, स्थायी शिक्षकको आवधिक बढुवा र सेवा गणनाको समावेश, विभागीय कारबाही तथा अध्यापन अनुमतिपत्रको व्यवस्था, सरुवाको न्यायसंगत प्रक्रिया, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीका पद–सुविधा सुनिश्चितता, ट्रेड युनियन अधिकारमा हस्तक्षेप नगर्ने ग्यारेन्टी, साथै प्रधानाध्यापकको संगठनिक स्वतन्त्रता जस्ता मुद्दालाई विधेयकमा उपेक्षा गरिएको दाबी गरेको छ ।ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधिको सक्रिय उपस्थिति रहेको थियो । महासंघले हाललाई प्रचारात्मक चरणमा आन्दोलन सञ्चालन भइरहेको जनाएको छ । तर, सरकारले गम्भीरतापूर्वक पहल नगरे दोस्रोचरणअन्तर्गत ‘कडा आन्दोलनात्मक कार्यक्रम’ सार्वजनिक गरिने चेतावनी दिएको छ ।







