कवि भुपिन र बिन्दु हेटौंडामा सम्मानित
हेटौंडा- साहित्य संगम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्या विशेषसमारोहका रुपमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा डम्बर–पूर्ण माया स्मृति सम्मान समर्पणका साथै नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा संग्रहको गृहविमोचन तथा परिचर्चा गरिएको थियो । कार्यक्रममा ‘डम्बर– पूर्णमाया स्मृति कविता सम्मान’ –२०८० बाट बाग्लुङका कवि भूपिन ब्याकुल र २०८१ बाट काठमाडौँकी कवि÷समालोचक डा. बिन्दु शर्मालाई प्रदान गरिएको हो । उनीहरुलाई सम्मानपत्रसहित नगद २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित कविहरुले आफ्ना अनुभव र सृजनात्मक यात्राका प्रसंग प्रस्तुत गर्दै साहित्यले समाजमा चेतना र संवेदना अभिव्यक्त गर्ने माध्यमको रुपमा निरन्तर विकसित हुनुपर्ने विचार व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा हेटौंडा निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा संग्रहको गृहविमोचन गरिएको थियो । प्राध्यापक राजबाबु पहाडीले नियात्रा संग्रहको समालोचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा डम्बर–पूर्णमाया कविता सम्मानका संस्थापक कवि जेनन नेपालले विशेष कविता वाचन गरेका थिए । साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता र वरिष्ठ साहित्यकार डा. निमेश निखिलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, कवि, सर्जक र साहित्यप्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बालसाहित्यकार अनुसुया खनालले रचनावाचनगरेकी थिइन् ।








