परीक्षा रद्द भएपछि विद्यार्थी आन्दोलित
हेटौंडा- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौंडा–६ स्थित नेपाल–भारतमैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा रद्द भएको छ । परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएको पाइएपछि आइतबारको सबै परीक्षा रद्द गरिएको हो । केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण विद्यार्थीलाई पुरानो प्रश्नपत्र वितरण भएको बताइएको छ । पुरै समय परीक्षा दिएर बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द भएको जानकारी पाएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षा सम्पन्न भएपछि मात्र रद्द गरिएको भन्दै उनीहरुले नाराबाजी गर्दै परीक्षा केन्द्र परिसरमै प्रदर्शन गरेका थिए । ‘परीक्षा सकिएर बाहिर निस्किसकेपछि मात्र रद्द गरिएको जानकारी पायौँ,’ परीक्षार्थीले भने, ‘एउटै परीक्षा कति पटक दिने ?’
विद्यार्थीले आफूहरुले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राखेका छन् । विद्यार्थीले परीक्षा सूचनासमेत ढिलो पाएको र परीक्षा सकिएपछि मात्र परीक्षा रद्द गरिएको घोषणा गरिनु अन्यायपूर्ण भएको बताएका छन् । घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरीवेक्षक शंकर खतिवडामाथि छानबीन भइरहेको सीटीईभीटी हेटौंडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिए । पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापीअन्तर्गत बीएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीका परीक्षा रद्द गरिएको छ । यी विषयमा ७९ जना परीक्षार्थी उपस्थित थिए ।







