निर्मल माविलाई प्राविधिक विद्यालय बनाउनुपर्छः मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८२ पुष ९, बुधबार १२:५८

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निर्मल माविलाई प्राविधिक विद्यालयको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।मंगलबार विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले भविष्यमा प्राविधिक विद्यालय बनाउने गरी निर्मल माविले सीपमुलक तालिमहरु सञ्चालन गरेर प्रविधिको तीव्रतर विकासलाई आत्मसात् गरेको बताए । ‘अहिले एआईको जमाना हो, यस विद्यालयले पनि नयाँ प्रविधि आत्मसाथ गरिरहेको महसुस भएको छ,’ मुख्यमन्त्री बानियाँले भने । शिक्षा मानिसको जीवनायापन गर्ने माध्यम भएकोले विगतको शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले शिक्षालाई आयआर्जनसंग जोडेर गरिखाने शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

विद्यालयलाई बस उपलब्ध गराउन बजेटको व्यवस्था गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सरकारबाट विद्यालयलाई करिब सात लाख रुपैयाँ सहयोग उपलब्ध भएको जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले यो रकम थपगरी २० लाख पु¥याइदिन अनुरोध गरेका थिए । यसप्रति सकारात्मक प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले २० लाख रुपैयाँको व्यवस्थापन आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री बानियाँले ‘गरिबका छोराछोरीले नै देश र गाउँ चलाउने हुन्’ भन्दै जिम्मेवारी सही ढंगले प्रयोग गरे जनताले गणतन्त्र गरिबकै लागि भएको महसुस गर्ने बताए ।

उनले समावेशी र समानुपातिक विकासलाई आत्मसाथ गर्दै तीनै तहका सरकारले विद्यालयलाई नयाँ प्रविधिसँग जोडेर ‘पढ्दै–कमाउँदै’ अघि बढ्ने नीति लिएको उल्लेख गरे । उनले शिक्षालाई नयाँ प्रविधिसँग जोडेर अगाडि बढाउन बागमती प्रदेशसरकार सधैं तयार रहेको स्पष्ट पारे । महोत्सवको उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार बुद्ध लामा, हेटौंडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओली, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।

स्वर्ण महोत्सवमा प्रत्येक दिन विशेष कार्यक्रम गरी मनाइने जनाइएको छ । महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुने टोलीले सन्त्वना पुरस्कार १५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । महोत्सवअन्तर्गत बिहीबार विद्यालय परिसरमा नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने चौथो स्थान हासिल गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । महोत्सवमा शिक्षक नृत्य प्रतियोगिता पनि रहने बताइएको छ । विद्यालयले महोत्सव अवधिभर खानाको स्टल तथा मिनी व्यापार महोत्सव समेत सञ्चालन गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः१५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार पाउने छ । सान्त्वना स्वरुप ५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ । विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*