आमाछोरी एकैपटक दीक्षित

साझाकुरा
२०८२ पुष ११, शुक्रबार १०:४६

हेटौंडा- हेटौंडा–७, किरणचोकका आमाछोरी त्रिभुवन विश्वविद्यालयबाट एकैपटक दीक्षित भएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहबाट हेटौंडा–७ का सावित्री अधिकारी (आमा) र जेसिका अधिकारी (छोरी) नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताबाट दीक्षित भएको प्रमाणपत्र ग्रहण गरेका हुन् ।सावित्री हेटौंडा–४, भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षिका समेत हुन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेतालाई प्रमुखअतिथि बनाएर यसवर्ष दीक्षान्त आयोजना गरिएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्यालका अनुसार टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएकी थिइन् । यसपटक त्रिविका १६ हजार ३ सय भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावक सहित ४१ हजार व्यक्ति सहभागी भएको अनुमान गरिएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १ सय ९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३ सय ८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रलाई पदक वितरण गरिएको थियो । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८ सय ५१, व्यवस्थापनबाट ४३ हजार ६ सय १०, कानुनका दुई हजार ३ सय ३५ र शिक्षातर्फ १६ हजार ४ सय ६७ जना उत्तीर्ण भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*