नित्यगोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार कुन्ती मोक्तानलाई
हेटौंडा-मातृभूमि साहित्य समाज मकवानपुरले प्रसिद्ध गायिका कुन्ती मोक्तानलगायत वरिष्ठ साहित्यकारहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ । समाजले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्तित्वलाई पुरस्कृत एवम् सम्मान गरेको हो । कार्यक्रममा प्रसिद्ध गायिका कुन्ती मोक्तान नित्य गोविन्द स्मृति–मातृभूमि संगीतपुरस्कार २०८१ बाट २५ हजार नगद राशिसहित सम्मानित भएकी छिन् । यस्तै चर्चित नियात्राकार तथा कवि भवानी खतिवडा मायादेवी मातृभूमि पुरस्कार २०८१ बाट २१ हजार नगद राशिसहित पुरस्कृत भइन् ।
२०८१ को मातृभूमि साहित्य पुरस्कारबाट २५ हजार रकमसहित वरिष्ठ साहित्यकार प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम पुरस्कृत भए ।कार्यक्रममा श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट रोशन परियार १५ हजार रकमसहित सम्मानित भए । यस्तै १० हजार रकम सहितको शारदा उप्रेती स्मृति मातृभूमि सम्मानबाट कलासाधक जीवन केसी सम्मानित भएका छन् । यस्तै सामाजिक अभियन्ता विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई मकवानपुरश्री सम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्याधिबक्ता अप्सरा बस्नेत, डा. श्याम सुवेदी, लायन्स क्लबकी एस ३२५ कि सेकेन्ड भाइस डिसट्रिक्ट गर्भनर अंकिता सुमार्गी (संझना अर्याल) लाई बिशेष सम्मानित गरिएको छ ।
साहित्यिक कार्यक्रम अन्तर्गत मकवानपुरसहित विभिन्न जिल्लाबाट सहभागी साहित्यकारले एक दर्जनभन्दा बढी रचनावाचन गरेका थिए । अनुसूया खनाल, प्रबिना प्रयासी, अमृता लामिछाने, स्वस्तिका दाहाल, आकांक्षा रिौला, अनु रोक्का, भवानी तिमल्सिना, सरस्वती पौडेल र गौरी कँडेलले रचनावाचन गरेका थिए । यसैअवसरमा गायिका मोक्तानले आफ्नो चर्चित तथा कालजयी गीतहरु प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक र· दिइन् । कार्यक्रममा महिला साहित्यकारको साहित्यिक यात्राबारे परिसंवाद आयोजना गरिएको थियो ।
परिसंवादमा नियात्राकार भवानी खतिवडा, साहित्यकार मुना अर्याल, आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटा तथा झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेती सहभागी थिए । वक्ताहरुले महिलामा साहित्यप्रति रुचि हुँदाहुँदै पनि घरायसी जिम्मेवारीका कारण समय व्यवस्थापन चुनौतीपूर्ण हुने अनुभव साझा गरे । यद्यपि पछिल्लो समय महिलाले घरायसी र पेशागत भूमिकासँगै साहित्य सिर्जनामा पनि उल्लेखनीय सफलता हासिल गरिरहेको बताइएको थियो ।
समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालको सभाध्यक्षता तथा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिटिइभिटी निर्देशक डा.शान्ति लामा, साहित्यप्रेमी मुक्तिगोविन्द बैद्य, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलगायत मकवानपुर, चितवन र आसपासका जिल्लाबाट आएका साहित्यकारको उल्लेखनीय उपस्थिति रहेको थियो ।







