प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा बालजागृति बोर्डिङ प्रथम
हेटौंडा- बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा मकवानपुरस्थित बालजागृति सेकेण्डरी इङ्लिस स्कुल प्रथम भएको छ । प्रथम भएसँगै विद्यालय नगद २५ हजार रुपैयाँसहित पुरस्कृत भएको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भएको प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा चितवनको माडीस्थित माडी माध्यमिक विद्यालय द्वितीय हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ । त्यसैगरी भक्तपुरको आदर्श माध्यमिक विद्यालय तृतीय भई १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
सान्त्वना पुरस्कार सिन्धुपाल्चोकको कृष्णरत्न गंगा माध्यमिक विद्यालयले हात पारेको छ । यो विद्यालयलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको आयोजनामा सम्पन्न प्रदर्शनीमा बागमती प्रदेशका १२ जिल्लाका विद्यालयको सहभागिता रहेको थियो । जिल्लास्तरीयप्रतियोगितामा प्रथम भएका विद्यालय प्रदेशस्तरीय प्रदर्शनीमा सहभागी भएका हुन् । यस प्रतियोगितामा दोलखा जिल्लाको सहभागिता भने रहेको थिएन । विद्यार्थीमा नवप्रवर्तनशील सोच, वैज्ञानिक चेतना तथा सिर्जनात्मक क्षमताको विकासमा टेवा पुराउने उद्देश्यले प्रदेशस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।







