हेटौंडा क्याम्पसमा त्रिविअन्तर्गत नयाँ भर्ना बन्द

साझाकुरा
२०८२ माघ ३०, बिहीबार १२:५४

हेटौंडा- हेटौंडा क्याम्पसले शैक्षिक सत्र २०८२÷८३ का लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तह (एमएड) कार्यक्रममा पहिलो सेमेस्टरको कक्षा सञ्चालन नहुने जानकारी दिएको छ । बिहीबार क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरेद्वारा जारी सूचनामा कक्षा सञ्चालन नहुने जनाएको छ । क्याम्पसले जारी गरेको सूचनाअनुसार एमएड कार्यक्रमको अन्तर्वार्ता तथा प्रवेशपरीक्षा सम्पन्न गरी नतिजा प्रकाशित गरिए पनि हेटौंडा क्याम्पस बागमती प्रदेश विश्व विद्यालयअन्तर्गत आ·िक क्याम्पसको रुपमा सञ्चालन हुनसक्ने अवस्था बनेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत नयाँ भर्ना नगर्न निर्देशन प्राप्त भएको जनाएको छ । प्रवेश परीक्षा दिएका विद्यार्थीहरु जुनसुकै कलेजमा गएर पनि पढ्न पाउने व्यवस्था रहेको छ । प्रवेश परीक्षा हेटौंडा क्याम्पसमा मात्रै सञ्चालन हुने गरेको क्याम्पसप्रमुख घिमिरेले जानकारी दिए । परीक्षामा ६२ जना विद्यार्थी सहभागी थिए ।

गत पुस २८ गते क्याम्पस सञ्चालक समिति, बागमती विश्व विद्यालय र त्रिभुवन विश्वविद्यालयको कार्यालयले गरेको सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कक्षा सञ्चालन नहुने भएको हो । दुई विश्वविद्यालय एउटै क्याम्पसमा सञ्चालन गर्न कठिन हुने भएकाले बागमती विश्वविद्यालयअन्तर्गतको शैक्षिक कार्यक्रममात्र सञ्चालन गर्न लागिएको घिमिरेले बताएका छन् । हेटौंडा क्याम्पसमा २०८३÷८४ देखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका नयाँ भर्ना नहुने भएको छ । क्याम्पसमा यसवर्ष बागमती विश्वविद्यालय अन्तर्गतका बीबीए र बीएडका कक्षा सञ्चालन भइरहेको छ ।

आगामी वर्षबाट स्नातक तहका एलएलबी, बीएचएम, बीपीएम र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुनेछन् । क्याम्पसमा आगामी वर्षबाट ११, १२ कक्षा पनि सञ्चालन हुँदैनन् । क्याम्पसमा अब स्नातक, स्नातकोत्तर र त्यसपछिका कक्षा मात्रै सञ्चालन हुने क्याम्पसप्रमुख घिमिरेले जानकारी दिए । बागमती विश्व विद्यालयअन्तर्गतका शैक्षिक कार्यक्रमहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय मागअनुसारका छन् । त्रिविअन्तर्गतका शिक्षकले पढाइ पूरा नहुन्जेलसम्म पठनपाठन गराउने घिमिरेले बताए । कक्षा ११, १२ विद्यालय तह भएकाले त्यसैअन्तर्गत रहेर पढाइ हुनेछ ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक र स्नातककोत्तर दुबै तहको कुनै पनि विषयमा विद्यार्थी भर्ना नहुने सहायक क्याम्पसप्रमुख मनोज पोखरेलले जानकारी दिए । क्याम्पसमा अहिले २ हजार ४ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । आगामी दिनमा बागमती प्रदेश विश्वविद्यालयका कक्षा सञ्चालन गर्ने तयारीमा रहेको पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*