हेटौंडा क्याम्पसमा तीनवर्षे एलएलबीका लागि प्रिरजिस्ट्रेशन खुला
हेटौंडा- बागमती विश्वविद्यालयअन्तर्गतको हेटौंडा क्याम्पसमा तीनवर्षे एलएलबी कार्यक्रमका लागि प्रिरजिस्ट्रेशन खुला गरिएको छ ।कुनैपनि संकायबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थीले यो कार्यक्रमका लागि आवेदन दिनसक्ने क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरेले जानकारी दिएका छन् । घिमिरेकाअनुसार एलएलबी कार्यक्रममार्फत कानुनी शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी प्रिरजिस्ट्रेशन प्रक्रिया अघि बढाइएको हो । प्रवेशपरीक्षाका लागि आवेदन दर्ता गर्ने अन्तिम मिति फागुन १३ गते तोकिएको छ । प्रवेश परीक्षा फागुन १५ गते बिहान ११ः०० बजे हेटौंडा क्याम्पस परिसरमै सञ्चालन हुने क्याम्पसले जनाएको छ । क्याम्पसमा अहिले २ हजार ४ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।







