रेडरोज इङ्लिस बोर्डिङ स्कुलको ३५ औं अभिभावक दिवस सम्पन्न
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१६ हटियामा रहेको रेडरोज इङ्लिस बोर्डिङ स्कुलले ३५ औं अभिभावक दिवस विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमसाथ भव्यरुपमा मनाएको छ । विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिको सहभागिता रहेको थियो । अभिभावक दिवसमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीले विभिन्न जातीय, सांस्कृतिक तथा आधुनिक भेषभूषामा सजिएर नृत्य प्रस्तुत गरेका थिए । प्रत्येक कक्षाका विद्यार्थीले फरकफरक विषयवस्तु, सन्देश र पहिचान झल्काउने प्रस्तुति दिएका थिए । विद्यार्थीले मात्र होइन, अभिभावक र शिक्षकले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।
शिक्षकको प्रस्तुति विशेष आकर्षणको केन्द्र बनेको थियो भने अभिभावकको सहभागिताले विद्यालय र परिवारबीचको सम्बन्ध अझ मजबुत भएको सन्देश दिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सामाजिक सन्देश बोकेका नाटक प्रस्तुत गरेका थिए । बालअधिकार, अनुशासन, वातावरण संरक्षण, अभिभावकको भूमिका र शिक्षाको महत्व जस्ता विषय समेटिएका नाट्य प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जनसँगै शिक्षामूलक बनाएका थिए । सोहीअवसरमा जनपत्र डटकमका प्रधानसम्पादक हरि हुमागाईलाई विद्यालयले नगदसहित सम्मान गरेको थियो ।
शिक्षा, पत्रकारिता तथा समाजप्रतिको योगदानको कदरस्वरुप हुमागाईलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो । अध्ययन, अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र व्यक्तित्व विकासका आधारमा विद्यार्थीलाई छनोट गरी सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, विद्यालयका प्रधानध्यापक सरिता भण्डारीलगायत प्रतिनिधिको आतिथ्यता थियो । अभिभावक दिवस विद्यालयको वार्षिक परम्परागत कार्यक्रमकारुपमा रहँदै आएको छ । विद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ । विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।







