मकवानपुरका कवि निखिललाई राष्ट्रिय कलाश्री पुरस्कार
हेटौंडा-नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली भाषासाहित्य, नाटक, ललितकला तथा संगीत साधनामा योगदान पु¥याएका विभिन्न क्षेत्रका ६ जना स्रष्टालाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ अर्पण गरेको छ ।काठमाडौंस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित विशेष समारोहमा प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको सभाध्यक्षता तथा कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । समारोहमा मकवानपुरे कवि निमेष निखिललाई ७५ हजार रुपैयाँ नगदसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ बाट सम्मान गरिएको हो ।
नेपाली नाटक तथा गीतलेखनको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सेवानिवृत्त प्राध्यापक मनबहादुर मुखियालाई ‘अमूल्य कलाश्री सम्मान २०८२’ प्रदान गरिएको थियो । त्यस्तै, निबन्ध, कविता तथा गोरखापत्र र मधुपर्कलगायत विभिन्न पत्रपत्रिकाको सम्पादनमार्फत साहित्यक्षेत्रमा योगदान पु¥याएका स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’लाई एक लाख रुपैयाँ नगदसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८२’ प्रदान गरिएको हो । यसैगरी चित्रकार एससी सुमनलाई ६० हजार रुपैयाँ नगद सहित ‘थिरछाया राष्ट्रिय कलाश्री पुरस्कार’, साहित्यिक पत्रकार तथा लेखक राजेश खनाललाई ५० हजार रुपैयाँ नगदसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ तथा लोकगायिका एवम् संगीत अनुसन्धानकर्ता झुमा लिम्बूलाई ५० हजार रुपैयाँ नगदसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रदान गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष कवि राजेश्वर कार्कीले स्वागत मन्तव्य दिएको कार्यक्रममा समालोचक महेश पौड्यालले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गरेका थिए ।







