मकवानपुरको समानुपातिक तर्फको मतगणना सम्पन्न

साझाकुरा
२०८२ फाल्गुन २७, बुधबार ११:४५

हेटौंडा-मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । मंगलबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । दुवै क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ कुल ७३ हजार ६ सय ९२ मत प्राप्त गरेको छ । यहाँ रास्वपाले प्रत्यक्षतर्फभन्दा पनि समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८ सय ३४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा बासुरी चुनावचिन्ह रहेको राष्ट्रिय परिवर्तन पार्टीले दोस्रो स्थानमा रहँदै १५ हजार ७० मत ल्याएको छ ।

त्यसैगरी, नेकपा एमालेले ११ हजार २ सय २७, नेपाली कांग्रेसले १० हजार ७ सय ७६, नेकपाले ८ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ हजार ७३ मत पाएको छ भने हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले १ हजार ६ सय २४ मत प्राप्त गरेको छ । यसक्षेत्रमा समानुपातिकतर्फ कुल ९६ हजार ४ सय ५८ मत खसेकोमा ९३ हजार ७१ मत सदर भएको थियो । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपा ३३ हजार ८ सय ५८ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।

यसक्षेत्रमा नेकपा एमाले दोस्रो स्थानमा रहँदै १६ हजार ४ सय ७३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको पकड क्षेत्रको रुपमा चिनिँदै आएको क्षेत्र नम्बर २ मा यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले दोस्रो स्थानमा सीमित भएको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले १२ हजार ८ सय ६३, नेकपाले ९ हजार ४ सय ३१, राप्रपाले १ हजार ५ सय ४ र श्रमसंस्कृति पार्टीले १ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् । प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने आइतबार नै सार्वजनिक भइसकेको थियो । प्रत्यक्षतर्फ मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ कुल ९१ हजार ८ सय ८ मत खसेकोमा ८७ हजार ७ सय ३८ मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*