मकवानपुरमा बदरमत २०७९ भन्दा २०८२ मा बढी

साझाकुरा
२०८२ फाल्गुन २८, बिहीबार १२:०९

हेटौंडा- प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा बदरमतको संख्या अघिल्लो निर्वाचनको तुलनामा बढेको देखिएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ विशेषगरी २०७९ को निर्वाचनभन्दा यसपटक बदरमतको प्रतिशत उल्लेख्यरुपमा बढेको हो । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल १ लाख ८६ हजार ९५९ मत खस्दा १० हजार ६१५ मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । अधिकांश मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएकाले मतबदर भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । संख्या र प्रतिशतका हिसाबले मकवानपुर–२ मा सबैभन्दा धेरै मतबदर भएको छ । यसक्षेत्रमा ९१ हजार ११६ मत खसेकोमध्ये ५ हजार ४९७ मत अर्थात ६ दशमलव ३ प्रतिशत बदर भएको छ । २०७९ को निर्वाचनमा भने यहाँ ४ दशमलव ७६ प्रतिशत मतबदर भएको थियो । यसआधारमा यसपटक बदरमतको प्रतिशत बढेको देखिन्छ ।

यस्तै मकवानपुर–१ मा ९५ हजार ८४३ मत खसेकोमध्ये ५ हजार ११८ मत अर्थात ५ दशमलव ३३ प्रतिशत बदर भएको छ । अघिल्लो निर्वाचन २०७९ मा यस क्षेत्रमा ४ दशमलव ४६ प्रतिशत मतबदर भएको थियो । यसपटक यहाँ पनि बदरमतको प्रतिशत बढेको वागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए । एकै मतपत्रमा एकभन्दा बढी निर्वाचनचिन्हमा मतसंकेत गर्नु, मतसंकेत नै नगर्नु, औँठाछापको प्रयोग गर्नु बदरमत बढ्नुको मुख्य कारण रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताए ।

प्रत्येक वडामा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिए पनि बदरमत बढ्नु दुःखद भएको उनले बताएका छन् । प्रत्यक्षतर्फ मकवानपुर–१ मा २१ जना र मकवानपुर–२ मा २३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये दुवै क्षेत्रमा ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन कानुनअनुसार कुल सदरमतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । समानुपातिकतर्फ भने प्रत्यक्षको तुलनामा बदरमत कम देखिएको छ । मकवानपुर–१ मा ३ हजार ८८७ मत अर्थात ३ दशमलव ५१ प्रतिशत बदर भएको छ भने ९३ हजार ७१ मतसदर भएको छ ।

मकवानपुर–२ मा ४ हजार ७० मत अर्थात ४ दशमलव ४३ प्रतिशत बदर भएको छ । दुवै क्षेत्रका समानुपातिकतर्फ ७ हजार ४४७ मत अर्थात ३ दशमलव ३९ प्रतिशत मतबदर भएको निर्वाचन कार्यालयले जनाएको छ । तर, समानुपातिकतर्फ भने २०७९ को निर्वाचनमा बदरमतको प्रतिशत यसपटकभन्दा बढी थियो । त्यतिबेला मकवानपुर–१ मा ६ दशमलव ९३ प्रतिशत र मकवानपुर–२ मा ४ दशमलव ८५ प्रतिशत मतबदर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*