भौगोलिक समावेशितालाई ध्यानमा राख्दै नामफिर्ता लिएँः मन्दिरा मुक्तान
हेटौंडा-राजनीतिवृत्तमा पद प्राप्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने प्राप्त अवसर नै त्यागेर फरक उदाहरण प्रस्तुत गरेकी छिन् ।श्रमसंस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सांसद नबन्ने घोषणा गरिन् । उनका नाम आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा रहेपनि आदिवासी जनजाति समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित सांसदमार्फत् प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै आफूले अवसर त्यागेको बताइन् । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा श्रमसंस्कृति पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी मुक्तानले भौगोलिक समावेशितालाई ध्यानमा राख्दै आफूले पाएको अवसर छाड्ने निर्णय गरेको बताइन् ।
उनकाअनुसार मधेश प्रदेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत समेट्न आवश्यक देखिएकाले समानुपातिक सांसद नबन्ने निर्णय लिइएको हो । आफूले पैसा लिएर उम्मेदवारी फिर्ता लिएको भन्ने आरोपसमेत आएको उल्लेख गर्दै मुक्तानले त्यो आरोप निराधार भएको बताइन् । पार्टीको हित र समावेशी प्रतिनिधित्वको भावना अनुसार स्वेच्छिकरुपमा नाम फिर्ता लिएको उनले बताइन् । मुक्तानको स्थानमा मधेश प्रदेशको धनुषाबाट मधेशी क्लस्टरअन्तर्गत रुबीकुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ ।
आफू प्रत्यक्ष निर्वाचन लड्न सक्ने क्षमता भएको बताउँदै मुक्तानले आगामी प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी रहेको बताइन् । तीन महिनाको अवधिमा राष्ट्रिय पार्टी बन्न सफल भएको श्रमसंस्कृति पार्टीले सबै भूगोल र समुदायलाई समेट्नुपर्ने भएकाले यस्तो निर्णय लिइएको उनको भनाइ छ । पार्टीको दबाबभन्दा पनि आफ्नै इच्छाले उम्मेदवारी फिर्ता लिएको उनले दोहो¥याइन् ।हेटौंडा–१९ की मुक्तान विगत एक दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय छिन् । यसअघि उनले करिब आठ वर्ष नेशनल मंगोल अर्गनाइजेशन पार्टीमा केन्द्रीय सदस्यकारुपमा काम गरेकी थिइन् । मकवानपुर जिल्लामा श्रमसंस्कृति पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १ हजार ६ सय २४ र क्षेत्र नम्बर २ बाट १ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो ।







