ओली र लेखक पक्राउको विरोधमा प्रशासनमा विरोधपत्र : ओली र लेखक ५ दिन हिरासतमै रहने

साझाकुरा
२०८२ चैत्र १६, सोमबार १३:०३

हेटौंडा-नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोधपत्र बुझाएको छ । पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णयबमोजिम जिल्ला कमिटीले प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको हो । एमाले मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई विरोधपत्र बुझाएका हुन् । कार्यबाहक अध्यक्ष लामाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासन विपरीत गरिएका कदम तत्काल सच्याउँदै ओली र लेखकलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति सुरुदेखि एमालेको असहमति र विमती रहँदै आएको लामाले जिकिर गरे ।

आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबीन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबीन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने उनले बताए । गैरकानुनी ढंगबाट गरिएको गिरफ्तारीले मुलुक द्वन्द्वमा फस्ने कार्यबाहक अध्यक्ष लामाको भनाई छ । त्यसैगरी विरोध ¥यालीमा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले कानुनी राज्यको धज्जी उडाउँदै प्रतिशोधको राजनीतिक दिशामा सरकार अघि बढेको बताएका छन् । जनताको जनादेशअनुसार राष्ट्रको समृद्धिमा लाग्नुपर्ने सरकार दलप्रति प्रतिशोध साध्न तल्लिन रहेको उनले आरोप लगाए ।

केन्द्रीय सदस्य रानाले एमाले लोकतान्त्रिक मूल्य र मान्यताप्रति अडिग रहने पार्टी भएपनि आपूmहरुलाई उत्तेजित बनाउने गतिविधि नगर्न चेतावनी दिएका छन् । ओली र लेखकको विरोधमा एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमाविरोधपत्र बुझाएका हो । यसअघि शनिबार हेटौंडामा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । देशव्यापीरुपमा पार्टीका विभिन्न जनवर्गीय संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि भएको हो ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनको विषयलाई लिएर एमालेले सरकारको आलोचना गर्दै आएको छ । सोही घटनासँग जोडेर अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले विरोधका कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ ।

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपककुमार श्रेष्ठले जानकारी दिए । लेखक र ओलीलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमा ब्यापक दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए । आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरिएको थियो । आइतबार अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत् भर्चुअल उपस्थित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*