बागमती गोल्डकप : ललितपुरको पराजित, सर्लाहीको बागमती फाइनलमा
हेटौंडा- सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सहिदस्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । निर्धारीत खेलसमयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दुवै टिमले पेनाल्टीमार्फत् गोल गरेको हो । फ्रेन्ड्सका कप्तान रुपेश केसीले पहिलो हाफको ११ औं मिनेटमा र बागमतीका लागि आयुष मगरले ८५ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गरे । टाइब्रेकरमा बागमतीका लागि अनिष महर्जन, भुपल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले गोल गरे भने फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे ।
प्रशान्त सक्षमको प्रहार बाहिरियो । प्लेयर अफ दि म्याच बागमतीका आयुष मगर घोषित भए । उनले १० हजार प्राप्त गरे । बागमतीले आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा सातौं संस्करणको विजेता चर्च ब्वाइजलाई हराएको थियो । बागमतीले अब फाइनलमा उपाधिका लागि दोस्रो सेमिफाइनल अन्तर्गत बिहिबार हुने चित्लाङ एफसी र नवजनजागृतिबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।







