‘ढुकढुकी’ को पहिलो कृति ‘वात्सल्य’ विमोचन

साझाकुरा
२०८३ श्रावण १२, मंगलवार १२:२५

हेटौंडा- मकवानपुरकी मुक्तककार लक्ष्मी कँडेल ‘ढुकढुकी’ को पहिलो कृति ‘वात्सल्य’ को बिमोचन गरिएको छ । साहित्य संगम मकवानपुर द्वारा आयोजित ३ सय ६९ औं नियमित साहित्यसन्ध्याको अवसरमा कँडेलको मुक्तक संग्रह ‘वात्सल्य’ को विमोचन गरिएको हो । विसं २०३२ सालमा हेटौंडामा जन्मिएकी कँडेलको पहिलो कृतिको रुपमा प्रकाशित भएको मुक्तक संग्रहमा सयवटा मुक्तक समावेश गरिएको छ । कृतिमाथि बिमर्श गर्दै साहित्यकार सानु खनालले यस कृतिमा प्रेम, वात्सल्य, ईश्वरभक्ति, राजनीतिक तथा सामाजिक समस्या, देशप्रेम, आक्रोश, बिद्रोहलगायतका संवेदनामा आधारित रहेर रचिएका मुक्तक समावेश गरिएको बताए ।

उनले मुक्तककारले कृतिमा मानवीय संवेदनाका भावहरु हरेक कोणबाट प्रस्तुत गरेकोमा सोझो भावनाभन्दा पनि बक्रोक्तिको रुपमा प्रस्तुत गर्दा उत्कृष्ट बनाउन सकिने सुझाव दिए । मकवानपुरे साहित्यकार स्वर्गीय अप्सरा तिमल्सिनाको स्मृति विशेष कार्यक्रममा उनको फोटोमा माल्यार्पण गरिएको थियो । तिमल्सिनाको साहित्यिक तथा व्यक्तिगत जीवनीको बारेमा स्मरण गर्दै साहित्यकार भावना सापकोटाले परिचर्चा गरेकी थिइन् । उनले स्वर्गीय तिमल्सिनाका प्रकाशित कविता संग्रह ‘किनाराका आवाज’ तथा कथा संग्रहको बारेमा चर्चा गरेकी थिइन् ।

विसं २०७६ साउन १२ मा स्वर्गीय भएकी तिमल्सिना मकवानपुरको महिला साहित्यकारको साझा संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्ष तथा साहित्य संगम मकवानपुरकी तत्कालीन उपाध्यक्ष समेत थिइन् । साहित्यक्षेत्रमा उज्ज्वल नक्षत्र मानिएकी तिमल्सिना हेटौंडा–३ को बालउज्ज्वल माविको सहायक प्रधानाध्यापक पदमा कार्यरत थिइन् ।

कार्यक्रममा नियमित साहित्य सन्ध्याअन्तर्गत नारायणी कलेज तथा तुलसीमेहर मेमोरियल विद्यालयका एक दर्जन विद्यार्थीले कविता वाचन गरेका थिए । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरका साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्य तथा साहित्यकार हयग्रीव आचार्यको विशेष आतिथ्य थियो । कार्यक्रममा मकवानपुरका साहित्यकार एमव् विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*