बागमती गाउँपालिकामा शिक्षक, कर्मचारीका लागि एआईसम्बन्धी प्रशिक्षण
हेटौंडा- बागमती गाउँपालिकाले शिक्षाक्षेत्रमा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा लेखापालका लागि कृत्रिम बौद्धिकता सम्बन्धी एकदिने तालिम गरेको छ ।बागमती गाउँपालिकाको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ मकवानपुर (क्यान मकवानपुर) को सहकार्यमा आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाअन्तर्गतका १२ वटा आधारभूत तथा ५ वटा माध्यमिक विद्यालयका २३ जना शिक्षक तथा सम्बन्धित कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत ओमबहादुर दर्जीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा क्यान बागमती प्रदेशका निवर्तमान अध्यक्ष पुष्पराज पुडासैनी, बागमती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता कमानसिं पाख्रिन, क्यान मकवानपुरका जिल्ला सदस्य उर्मिला सापकोटा र सुलभ सापकोटालगायतको आतिथ्यता रहेको थियो । तालिममा कृत्रिम बौद्धिकताको पछिल्लो विकास, यसको व्यावहारिक प्रयोग तथा विद्यालय र स्थानीय तहका दैनिक कार्यसम्पादनमा एआई प्रविधिको उपयोगका विषयमा प्रशिक्षण दिइएको थियो । विशेषगरी शिक्षण सिकाइलाई प्रविधिमैत्री, प्रभावकारी र सिर्जनशील बनाउने तथा कार्यालयका विभिन्न प्रशासनिक एवं व्यवस्थापकीय कार्य एआईको सहयोगमा कसरी सहज र छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयलाई प्रशिक्षणमा प्राथमिकता दिइएको थियो ।
सहभागीलाई एआईको प्रयोगमार्फत् पाठयोजना निर्माण, शिक्षण सामग्री तयार गर्ने, विषय वस्तुलाई विद्यार्थीको तहअनुसार सरल बनाउने, प्रश्नपत्र तथा अभ्यास सामग्री निर्माण गर्ने, लेखन तथा सम्पादन गर्ने, कार्यालयीय दस्तावेज तयार गर्ने लगायत कार्यलाई थप प्रभावकारी बनाउन सकिनेबारे व्यावहारिकरुपमा सहजीकरण गरिएको थियो । कार्यक्रमका सहजकर्ता एवं प्रशिक्षक सिराज खतिवडा र अभिषेक अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण बागमती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख प्रकाशचन्द्रले गरेका थिए ।
पछिल्लो समय शिक्षा तथा सार्वजनिक सेवाप्रवाहमा सूचनाप्रविधिको प्रयोग तीव्ररुपमा बढिरहेका बेला बागमती गाउँपालिकाले एआईसम्बन्धी सीप र ज्ञानलाई विद्यालय तहसम्म पु¥याउने उद्देश्यले आयोजना गरेको प्रशिक्षणलाई सहभागीले उपयोगी र समयसापेक्ष कार्यक्रमकारुपमा लिएका छन् ।प्रविधिको तीव्र विकाससँगै एआईलाई शिक्षण सिकाइ र कार्यालयीय कार्यसम्पादनको सहायक उपकरणकारुपमा सदुपयोग गर्नसक्ने जनशक्ति तयार पार्नु आवश्यक रहेको भन्दै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई एआईको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले शिक्षण पद्धतिमा नवीनता ल्याउनुका साथै विद्यालय प्रशासन र स्थानीय तहको सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।







