हेटौंडा उपमहानगरले ६० करोड बढी सामाजिक सुरक्षाभत्ता बाँड्यो
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८२÷८३ मा सामाजिक सुरक्षा भत्तामा ६० करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । उपमहानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको तथ्यांक अनुसार विभिन्न ८ वटा शीर्षकमा चार किस्तामा गरी कुल ६० करोड ४ लाख २१ हजार १४९ रुपैयाँ खर्च भएको हो । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२÷८३ को सुरुवातमा अर्थात् पहिलो किस्तामा सबैभन्दा कम १४ हजार ७ सय ४ जना सेवाग्राहीले लाभ लिएका थिए । आर्थिक वर्षको अन्त्य अर्थात् चौथो किस्तासम्म आइपुग्द सेवाग्राहीको संख्या बढेर १४ हजार ८ सय १५ पुगेको थियो ।
जुन वर्षभरिकै सबैभन्दा बढी संख्या हो । यद्यपि, कार्यालयले सबैभन्दा बढी रकम भने दोस्रो किस्तामा खर्च गरेको देखिएको छ । दोस्रो किस्तामा १४ हजार ७ सय ७२ जना सेवाग्राहीले लाभ लिएका थिए तर, यस किस्तामा सबभन्दा बढी कुल १५ करोड २ लाख २७ हजार ५ सय २७ रुपैयाँ खर्च भएको छ । यस आर्थिक वर्षमा सबै भन्दा बढी रकम जेष्ठनागरिक शीर्षकमा खर्च भएको छ ।
यस शीर्षकमा मात्रै कुल ४३ करोड २२ लाख ४८ हजार ९ सय २१ रुपैयाँ खर्च भएको छ । त्यसैगरी, विधवा भत्तामा ७ करोड ११ लाख १७ हजार ८ सय ३४ रुपैयाँ, जेष्ठनागरिक एकल महिलातर्फ ४ करोड ७२ लाख ९१ हजार ९१० रुपैयाँ र जेष्ठनागरिक (दलित) शीर्षकमा १ करोड ३३ लाख ५० हजार ३९ रुपैयाँ खर्च भएको छ । यस्तै, अपा·ता भएका व्यक्तिको भत्तामा पनि उल्लेख्य रकम खर्च भएको तथ्यांकले देखाएको छ । अपूर्ण अपा·ता भत्तामा १ करोड ६० लाख ६२ हजार ५ सय ५७ रुपैयाँ र अति अशक्त अपा·ता भत्तामा १ करोड ६८ लाख २ हजार ६ सय ८८ रुपैयाँ खर्च गरिएको छ । दलित बालबालिका शीर्षकमा ३५ लाख ४७ हजार २ सय रुपैयाँ खर्च भएको उपमहानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले जनाएको छ ।







