हाइटेन्सन प्रभावितलाई मुआब्जा भन्दै राहतरकम बुझ्न परेपछि चिन्तित
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका हाइटेन्सन लाइन विस्तारबाट प्रभावित स्थानीयवासीले आफूहरुले उचित क्षतिपूर्ति नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।४०० केभीको प्रसारण लाइन विस्तारका क्रममा आफ्नो जग्गा, घर, टहरा, पर्खाल, गोठ, फलफूलका बोटबिरुवा तथा लगाइएको बाली प्रभावित भएपनि क्षतिको मूल्यांकनअनुसार उचित रकम नपाएको उनीहरुको गुनासो छ । प्रभावित स्थानीयकाअनुसार प्रसारण लाइनबाट अतिप्रभावित, प्रभावित र न्यून प्रभावितलाई उचित व्यवस्थापन तथा क्षतिपूर्ति उपलब्ध गराउने भन्दै पटकपटक कागजमा हस्ताक्षर गराइएको थियो । एमसीए नेपालले तोकेको बैंकमा खाता खोल्न लगाएर दुई–तीन किस्तामा रकम उपलब्ध गराइने जानकारी दिइएको उनीहरु बताउँछन् ।
तर, आफूहरुको खातामा रकम एकैपटक आएको र रकमसमेत मुआब्जाको सट्टा ‘राहत’ शीर्षकमा जम्मा भएको प्रभावितको भनाइ छ । रकम वितरणमा समेत समानता नभएको उनीहरुको आरोप छ । प्रभावितमध्ये केहीको तुलनात्मक रुपमा कम क्षेत्रफलमा घरजग्गा भएपनि बढी रकम प्राप्त भएको, राजकुलोमा बनाइएको टहरा तथा पसलका लागि समेत उल्लेख्य रकम आएको तर, आफूहरुले भने अपेक्षाकृत निकै कम रकम पाएको एक प्रभावितले बताइन् । उनले भनिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गरिएको जस्तो देखिएको छ । घरजग्गा नाप्न आउँदा स्क्वायर फिटका आधारमा रकम दिने भनिएको थियो । तर, त्यो कुरा कागजमा र व्यवहारमा देखिएन ।’
प्रभावितले आफूहरुमाथि समान व्यवहार नभएको भन्दै एमसीए नेपालको हेटौंडास्थित कार्यालयमा पुनरविचार गर्न माग गर्दै निवेदन समेत दिएका छन् । तर, निवेदनमाथि चित्तबुझ्दो जवाफ दिनुको सट्टा सम्बन्धित अधिकारीले उल्टै हप्कीदप्की गर्ने र रुखो व्यवहार देखाउने गरेको उनीहरुको गुनासो छ । ‘हाम्रो समस्या सुनुवाइ होस् भनेर कार्यालयमा निवेदन दिएका छौँ । तर, अधिकारीहरुबाट चित्तबुझ्दो जवाफ पाएका छैनौँ,’ एक प्रभावितले भने । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको निर्देशनालयअन्तर्गत् हेटौंडा सबस्टेसनबाट ४००÷२२०÷ १३२÷११ केभीको विद्युत् प्रसारण गर्ने योजनाअन्तर्गत सिमलटार क्षेत्रमा प्रसारण लाइनका टावर निर्माण भइरहेको छ । केही टावर निर्माण सम्पन्न भइसकेका छन् भने अन्य स्थानमा निर्माणकार्य जारी छ ।







