रानीमा निर्मित सालकको मूर्ती उद्घाटन
हेटौंडा/विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमारहेको सालकको मूर्तिको सोमबार उद्घाटन गरिएको छ ।
हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा चौघडा बजारमा निर्माण गरिएको साललको मूर्तिको सोमबार बिहान हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागार्इंले उदघाट्न गरेका हुन् । समूहको चालु आव. ०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सालकको मूर्ति निर्माण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष चौलागाईंले रानी सामुदायिक वनले लोपोन्मुख सालकको मूर्ति निर्माण गरेर वन समूहले उदाहरणीय काम गरेको बताए । उनले यस्तो कार्यले सालकको अनुसन्धान गर्ने विद्याथी, अनसन्धानकर्ता, उपभोक्ता र सरोकार वालाहरुलाई मद्दत गर्ने बताए । रानी सामुदायिक वनले महिला आयआर्जन, संस्थागत विकास, वन व्यवस्थापन गरिबी न्यूनीकरण, सामाजिक कार्यहरु गरी वनको प्रतिष्ठालाई उच्च राखेको उनको दाबी छ । कार्यक्रममा मूर्तिकार हर्क ब्लोन र सहयोगी प्रमोद गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा वन समूहकी कोषाध्यक्ष एवम् सालकको मूर्ति निर्माण उपसमितिकी संयोजक गोमा लामिछानेले साललको मूर्ति बनाउन एक लाख ११ हजार खर्च लागेको विवरण प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, समूहका उपाध्यक्ष केशव धिताल, सल्लाहकार बलराम अधिकारी, कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, वन समूहका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीहरुको सहभागिता
रहेको थियो ।
रानी सामुदायिक वनले २०६२ सालकदेखि सालकको संरक्षण, यसको बासस्थान निर्माण, प्रचारप्रसार, कानुनी व्यवस्था बारे छलफलका साथ काम गर्दै आएको छ । समूहले सालकको संरक्षणको लागि ब्लक नं. ५ मा डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा सालक केजसमेत निर्माण गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले जानकारी दिए ।







