हेटौंडामा ल्याण्डफिल साइडको समस्या
हेटौंडा- फोहोर व्यवस्थापनमा अब्बल साबित हुँदै दुई पटक सफा सहरका रुपमा पुरस्कृत भएको हेटौंडाले ल्याण्डफिल साइडको समस्या निरन्तर भोगिरहेको छ ।
हाल फोहोर व्यवस्थापन गरिरहेको राप्ती बगरको क्षेत्र वातावरणीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै ल्याडफिल साइडको खोजी गरिएको लामो समय भसकेको छ । तर, ल्याडफिल साइटको लागि पर्याप्त र उपयुक्त जग्गा भेटिएको छैन । खोला किनार क्षेत्रमा फोहोर व्यवस्थापन गर्दा वातावरणीय प्रभावको मूल्यांकन गरिएको छैन ।
अन्य विकल्प नभएपछि उपमहानगरपालिकाले राप्ती किनारमै व्यवस्थित रुपमा फोहोर बिसर्जन गर्ने गरेको छ । कुहिने तथा नकुहिने फोहोरलाई पुनः प्रयोगको काम हुन थालेपछि समस्या बढ्न नपाएको हेटौंडा उपमहानगरपालिकामा वातावरण महाशाखा प्रमुख भएर लामो समय काम गरेका बिके महर्जनको भनाइ छ ।
‘कुहिने फोहारलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहार पनि छानेर अन्य सामाग्री बनाउने उद्योगमा पठाउने काम
मेरै अवधारणाअनुसार भएको हो । फोहोरको पुनप्रर्योगमा जोड दिन सकियो भने ल्याडफिल साइडलाई दबाब कम हुन्छ ।’ महर्जनले बताए ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर हरियो र निलो बाल्टीमा हाल्न घरवालालाई सचेत गराई आफ्नो नेतृत्वमा प्रभावकारी कार्यान्वयन गरिएको स्मरण गर्दै महर्जनले पछिल्ला समय भने फोहोरको वर्गीकरणमा जोड नदिइएको दाबी गरे ।
‘रङमा आधारित स्रोत वर्गीकरण, बारमा आधारित संकलन’ भन्ने नारा नै दिएर फोहोर संकलन र व्यवस्थापन गर्ने गरिएको थियो । अहिले सबै प्रकारका फोहोर एकै ठाउँमा हाल्ने गरिएको पाइन्छ । यसो गर्दा फोहोरको पुनप्रर्योग घट्न गई ल्याण्डफिल साइटमा दबाब बढी हुन्छ ।’ महर्जनले भने ।
करिब २ लाख जनसंख्या रहेको हेटौंडाको १९ वटै वडाको मुख्य बस्ती भएको क्षेत्रमा घरघरमा पुगी फोहोर संकलन गर्ने गरिएको मेयर महतले बताए । फोहोर संकलन तथा व्यवस्थापनको काम ग्रिन एण्ड क्लिन सिटी प्रालिले गर्दै आइरहेको छ ।
२०६२ सालदेखि उपमहानगरपालिकाले सोही कम्पनीसँग साझेदारी गरी फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ । फोहोर व्यवस्थापनको लागि हेटौंडाको राप्ती खोला किनारको सार्वजनिक जग्गा प्रयोग गर्दै आइरहेको छ ।
फोहोर संकलन, सार्वजनिक स्थानमा व्यवस्थापन, नगरबासीसँग शुल्क संकलन साथै फोहोरको पुर्नप्रयोगको जिम्मा ग्रिन एण्ड क्लिन सिटी प्रालिलाई नै दिइएको उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काले बताइन् ।
मुख्य बजार क्षेत्रको फोहोर बढारेर संकलन गर्ने, फूल बिरुवा रोप्ने पानी हाल्नेलगायतका कामका लागि स्थायी र ज्यालादारी गरी दैनिक २७ जना कर्मचारी उपमहानगर–पालिकाले खटाउने गरेको छ । यसबाहेक फोहोर व्यवस्थापनको अन्य काम कम्पनीले नै जिम्मा लिएर गरिरहेको इन्जिनियर खड्काले जानकारी दिइन् ।
आफूहरुले दैनिक ४३ जना कर्मचारी खटाएर उपमहानगरको १९ वटै वडाको फोहोर संकलन तथा व्यवस्थापनको काम गरिरहेको ग्रिन एण्ड क्लिन सिटी प्रालिका सञ्चालक नवराज खतिवडाले बताए । कुहिने र नकुहिने गरी हेटौंडाबाट दैनिक २५ टन फोहोर संकलन तथा व्यवस्थापन गर्ने गरिएको खतिवडाले जनाए ।
संकलित फोहोरमध्ये करिब ५० प्रतिशत कुहिने तथा नकुहिने फोहोर पुनः प्रयोगको लागि प्रशोधनमा पठाउने गरिएको छ । उपमहानगरको लगानीमा राप्ती बगर किनारमा कुहिने र नकुहिने फोहोर छुट्याउने मेसिन राखिएको छ ।







