राजा महेन्द्रले यसकारण बनाए कान्ति लोकपथ निर्माण योजना

साझाकुरा
२०७८ भाद्र ३०, बुधबार ०९:२६

हेटौंडा/२०११ सालको बाढीपहिरोले ललितपुर, बागमती नदी क्षेत्र आसपास र मकवानपुरको पूर्वी भागमा ठूलो धनजनको क्षती भयो ।

बाढी पहिरोपीडितका लागि विभिन्न राष्ट्रहरुले दाल, चामल, मकैलगायत थुप्रै सहयोग दिएका थिए । सर्वसाधारण घरबारविहिन भएका कारण त्रिपाल, ओड्ने, ओछ्याउनेसमेत नेपालले सहयोगस्वरुप पाएको थियो ।

त्यतिबेला महेन्द्र शाह राजा थिए । उनले सहयोग स्वरुप आएको विभिन्न सामग्री सित्तैमा जनतालाई बाड्न चाहेनन् ।उनले त्यहिबेला योजना बनाए, अब काठमाडौं–हेटौंडा कान्ति राजपथ निर्माण गर्ने ।

निर्माणका लागि ट्रयाक खन्ने त्यस क्षेत्रका स्थानीय जनतालाई काममा लगाउने र काम गरे बापत सहयोगस्वरुप आएको खाद्यान्न लगायत सामाग्री बाँड्ने, यस्तो योजना बनाएर उनले प्रभावित क्षेत्रका काम गर्न सक्ने सबै जनतालाई ट्रयाक खन्न लगाए ।

रेखदेख र खाद्यान्न बाँड्ने जिम्मा सेनालाई दिइएको थियो ।हाम्रो क्षेत्रमा कर्णेल क्षेत्रबहादुर थापा (पूर्वउपप्रधानमन्त्री कमल थापाको बुबा)को कमाण्डमा एउटा पल्टन बसेको थियो ।

सेनाको रेखदेखमा काम गर्नेहरुका लागि नाइकेले प्रति व्यक्ति दिनको २ माना चामल वा १ पाथी मकै दिने गरेको थियो । जनतालाई श्रम– बापतको खाद्यान्न बाँड्नका लागि महेन्द्रले बनाएको योजना अनुसारको बाटोको ट्रयाक निर्माण करिब ५ बर्षमा पूरा भयो।

बाटोको ट्रयाक बनेपछि महेन्द्र आफैले गाडि चलाएर उनका भाइहरु हिमालयन र धिरेन्द्रलाईसँगै राखेर कान्ति राजपथबाट काठमाडौंबाट हेटौंडाहुँदै फेरि त्रिभुवन राजपथको बाटो काठमाडौं फर्किए ।
(ट्रयाक खन्ने काममा खटिएका मकवानपुरगढी गाउँपालिका–२ निवासी हरिबहादुर किङरिङ्सँगको कुराकानीमा आधारित)

६६ बर्ष बित्यो अझै पूरा भएन कान्ति लोकपथ

अहिलेका पुस्ताका लागि सुन्दा कथा जस्तो लाग्ने हालको कान्ति लोकपथको व्यथा धेरै पुरानो हो ।

२०११ सालमा तत्कालीन राजा महेन्द्र शाहले आफ्नो निर्देशनमा ट्रयाक खन्न लगाएको हेटौंडा–काठमाडौं जोड्ने ९२ किलोमिटर सडक अझै अधुरो छ । ६६ वर्षअघि सुरु गरिएको सडक अझै पूर्ण रुपमा संचालनमा आउन सकेको छैन ।

६६ बर्षको अन्तरालमा मुलुकमा प्रजातन्त्रदेखि संघीय गणतान्त्रिक लोकतन्त्र व्यवस्था कार्यान्वयन भइसकेको अवस्थामा एउटा ९२ किलो मिटरको सडकमा गाडी गुड्न नसक्नु कतिको दुखदायी हो ? सजिलै मनन् गर्न सकिन्छ ।

मुलुकमा भएको राजनीतिक परिवर्तन नियालिरहेका अहिलेका पुस्ताका लागि त्यो समयकालका सर्वसाधारण जनताले देखेको सपना अझै पुरा हुन नसकेको बताउँदा उनीहरुलाई कथा जस्तो लाग्नु कुनै नौलो कुरा होइन ।

राजा महेन्द्रले तत्कालीन कान्ति राजपथ निर्माणको योजना अघि सारेपछि पिक, कोदालो र साबेल बोकेर पहाड खन्न उत्रिएका कयौंको निधन भइसक्यो, सयौंको केश फुलिसक्यो भने त्यतिबेला पूर्वाधार विकासका लागि योगदान पु¥याएका बृद्धहरु अहिले आँगन अगाडि लौरो टेकेर आफ्नो घर छेवैमा सरर गाडी गुडेको हेर्न लालायीत छन् ।

गाडी गुडेको हेर्न मात्र होइन, चढेर काठमाडौं सहर घुम्ने उधुम चाहना बोकेका एक बृद्ध हुन् । मकवानपुरगढी गाउँपालिका–२ ताप्लाखर्क निवासी हरिबहादुर किङरिङ् ।

२००१ सालमा ललितपुरको पुरानो शंखुमा जन्मिएका हरिबहादुर २०१२ मा भर्खर ११ बर्ष लागेका थिए । गरिब परिवारमा जन्मिएका उनीमाथि सानै उमेरमा कृषि, ज्याला मजदुरी काम गर्नुपर्ने बाध्यता थियो ।

कान्ति राजपथ बन्ने भएपछि सयौं मानिसको भीड उनीपनि पिक, कोदालो र साबेल बोकेर सडक खन्न उत्रिए । आफ्नो घर पुरानो शंखु नजिकै बाटो बन्ने भएपछि हौसिएर सडक खन्न उत्रिएका हरिबहादुरले ३ वर्ष काम गरेको स्मरण गर्छन् ।

करिब ९ घण्टा बाटो खन्न जुटेका उनले दिनको एक मोहोर ज्याला पाउँथे । ‘सुरुवातमा एक मोहोर ज्याला दिए ।’ उनले भने ‘पछि हुँदै गएपछि पैसा दिन छाडे, खाद्यान्न लिएर चित्त बुझाउनु प¥यो ।’

सानै उमेरमा कडा मिहेनत गरेर खनेको बाटो आफ्नो केश फुलेर लौरो टेकर हिड्ने अवस्थासम्म पुग्दा पनि पुरा निर्माण नभएको खबर सुन्दा उनी दुःख व्यक्त गर्छन् । ‘हामीले धेरै दुःख गरेर यति लामो बाटो खन्यौं तर, अहिलेसम्म गाडी गुड्न सकेको छैन ।

अब अहिले त बुढो भइयो, हिड्डुल गरेर सबै कुरा बुझ्न सकिँदैन । बेलाबखतमा सडक निर्माण हुन नसकेको खबर सुन्दा साह्रै नमज्जा लाग्छ।’ उनी त्यसबेलाको दुःख सम्झँदै भन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*