अदालतमा उपस्थितपछि कार्की पुर्पक्षका लागि थुनामा

साझाकुरा
२०७८ भाद्र ३०, बुधबार ०९:४९

हेटौंडा/हेटौंडा–४ कर्राकी सुस्मिता केसी (थापा)को हत्यामा संलग्न आरोपमा फरार रहेका ३४ बर्षीय अरुण कार्कीलाई जिल्ला अदालत मकवानपुरमा उपस्थितपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

सोमबार कार्की अदालतमा उपस्थित भएको र मंगलबार भएको थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । न्यायाधीश सीता अधिकारीको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार तिर्थराज भट्टराईले बताए ।

२०७७ असार १ गते हेटौंडा–४ कर्रास्थित आफ्नै निवासमा सुस्मिताको परिवारकै संलग्नतामा हत्या भएको अनुसन्धानबाट खुलेपछि दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न यसअघि नै आदेश दिइसकेको छ ।

हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*