ऊर्जामन्त्री भुसालसँग युएई राजदूतको शिष्टाचार भेट
काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएयीबीच रहिआएको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।
सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए। उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले यूएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरिन् । जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन् । उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताएकी छन् ।
सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएईमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन् ।
उनले कोभिड–१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएईमा सरकारप्रति धन्यवाद व्यक्त गरिन्। उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गरिन् । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो । रासस







