समाजवाद उन्मुख कार्यक्रम ल्याउने मुख्यमन्त्री शाक्यको घोषणा

साझाकुरा
२०७८ आश्विन ४, सोमबार ०९:३८

हेटौंडा/ वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सुशासन तथा समाजवाद उन्मुख कार्यक्रम ल्याउने घोषणा गरेकी छन् । संविधान तथा राष्ट्रिय दिवस–२०७८ को सन्दर्भमा आइतबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हाम्रो संविधानले समाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताइन् ।

‘सामाजिक र आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल, राज्यका सबै अड्ड र आमनागरिकहरु समेत क्रियाशील हुन आवश्यक छ’, उनले बागमती प्रदेशबासी नेपालको संविधानको मूल्य र मान्यताहरु आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको बताइन् ।

‘महिलासहितको समानुपातिक समावेशीको माध्यमबाट संघ, प्रदेश, स्थानीय तहको सहमति, सहकार्य, सहअस्तित्वलाई अँगाल्दै समृद्धि प्राप्त गर्नेतर्फ हामी आगाडि बढेका छौ ।’, मुख्यमन्त्री शाक्यले भनिन्, ‘आजको यस ऐतिहासिक दिनको अवसर पारेर बागमती प्रदेश सरकारले नागरिकको हीत तथा प्रदेशको समतामूलक विकासका लागि तत्कालै सुशासन तथा समाजवाद उन्मुख कार्यक्रम ल्याउने घोषणासमेत गर्दछु ।’

‘हाम्रो देश समाजिक एकता, आपसी सद्भाव र सहिष्णुतामा आधारित छ । मुलुकको समृद्धिका लागि नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाअनुरुप वागमती प्रदेशको दीर्घकालीन सोच स्वस्थ, सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेशलाई पूरा गर्न आजको दिन महत्वपूर्ण हुनेछ ।’, शाक्यले कोभिड १९ को माहामारीबाट उत्पन्न यस कठिन परिस्थितिलाई मध्यनजर गर्दै मानव जीवनरक्षार्थ सजग र सचेत भई दैनिक क्रियाकलाप सञ्चालन गर्न प्रदेशबासी सबैमा अपिल समेत गरेकी छन् ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले संविधान दिवसको सन्दर्भ पारेर आयोजित व्याडमिन्टन र दौड प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई नगदसहित सम्मानित गरेका थिए । व्याडमिन्टनतर्फ अभिषेक बोस र माधवी बोसको जोडी प्रथम भएको थियो । यस जोडीले नगद ३५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । ५ किलोमिटर दौडतर्फ हेटौंडा–१३, पदमपोखरीका महेश मोक्तान प्रथम भएका थिए ।उनलाई मुख्यमन्त्री शाक्यले नगद १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरेकी छन् । कार्यक्रममा वागमती प्रदेशका मन्त्रीहरु, राज्यमन्त्री, सांसदहरु, मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, उद्योगी, व्यवसायी तथा खेलाडीलगायतको उपस्थित
थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*