चार पालिकालाई ४५ लाखको स्वास्थ्य सामग्री
हेटौंडा/ मकवानपुरका चार पालिकालाई एक संस्थाले ४५ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । सामुदायिक विकास संस्था नेपाल (सीसीडीएन)ले थाहा नगरपालिका, भीमफेदी, कैलाश र ईन्द्रसरोबर गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोनाको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन सीसीडीएनले सहयोग गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सम्बन्धित पालिकाका अध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
उनले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको सीसीडीएनले नागरिकको स्वास्थ्य सुरक्षामा देखाएको तत्परताको प्रशंसा गरेका थिए ।
संस्थाले स्थानीय तहहरुलाई जनसंख्याका आधारमा पीपीई कीट, ग्लोब्स, मास्क, फेस सिल्ड, सेनिटाइजर, एन्टिजेन कीट, फ्रिजर, डिफ्रिज, भ्याक्सिन क्यारियर, सेनिटाइजर डिभाईस लगायत १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
थाहाका प्रमुख लवशेर विष्ट, कैलाशका अध्यक्ष टंक मोक्तान, भीमफेदीका अध्यक्ष हिदम लामा, ईन्द्रसरोवरका अध्यक्ष जीवन लामाले स्वास्थ्य सामग्री ग्रहण गरेका थिए । संस्थाका कार्यकारी निर्देशक महेन्द्र जर्घाले आगामी दिनमा पनि पालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।







