गाई काटेको आरोपमा बकैयाको एउटै ठाउँका १० जना पक्राउ

साझाकुरा
२०७८ आश्विन ४, सोमबार १६:४४

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा बकैया गाउँपालिकाबाट १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बकैया गाउँपालिकाको ११ नम्बर वडामा गाई काट्दै गरेको सूचना पाएपछि गाउँमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडेको संयुक्त टोलीले आइतबार बेलुका गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा एउटै गाउँका १० जनालाई पक्राउ गरेको जनाएको छ ।

‘गाई काटेको सूचना आएपछि जिल्ला र स्थानीय प्रहरी चौकीको टोली घटनास्थलतर्फ लागेको थियो । प्रहरी पुग्दा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा भेटेका थियौं ।,’ निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले भने । प्रहरीले बकैया–९ की ५० वर्षीया सञ्चमाया ब्लोन, ४२ वर्षीया फुलमाया थिङ, १८ वर्षीय सन्देस बिक, ४० वर्षीय सोमबहादुर तामाङ, १९ वर्षीय सोमार ब्लोन, बकैया–११ का ३९ वर्षीय जनक बहादुर लोलाई पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा ४३ वर्षीय राज कुमार घलान, ४० वर्षीय रबिन्द्र लो, ३३ वर्षीय पम्पराज लो र बकैया–४ का ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*