हेटौंडा सिमेन्टको मूल्य घट्यो
हेटौंडा/गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ ।
निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादीत ओपिसी सिमेन्ट प्रतिबोरा ४७ घटाएर ७ सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।
यसअघि प्रतिबोरा सात सय ४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएकोे छ ।
अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ । हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा सात सय र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ६ सय ८० कायम गरी बिक्री गर्दै आएका छन् ।
यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ छ ।
प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/ ७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकले बताए । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ । (रासस)







