सेनेटरी प्याडमा कर खारेज गर्न अनेरास्ववियुको माग
हेटौंडा/नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले सेनेटरी प्याडमा लगाइएको भन्सार शुल्क र भ्याट लगायतका राजश्व छुट गर्न सरकारसँग माग गरेको छ । (अनेरास्ववियु) मकवानपुरको महिला विभागले महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटलगायतका राजश्व छुट गर्नुमाग गर्दै आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
अनेरास्ववियु मकवानपुरको महिला विभाग संयोजक स्वेच्छातारा दंगालले प्रजिअ पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएकी हुन् ।
¥यालीमा विद्यार्थीले ‘सरकार प्याड रहर होइन बाध्यता हो’, ‘रातो कर माफ गर’, ‘ए सरकार प्याडमा त कर नलगाइदे’, ‘रातो कर खारेज गर’, ‘हाम्रो सास्ती सरकारलाई मस्ति’, ‘सके फ्रि नसके सबैले किन्न सक्ने बनाइदे’जस्तानारा लगाएका थिए । सरकारले सेनेटरी प्याडमा भन्सार शुल्क लगाएको भन्दै देशभर प्रदर्शन भइरहेको छ ।
अनेरास्ववियुका विद्यार्थीहरुले कर छुटको माग गर्दै ¥याली निकालेका थिए । सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको जिल्ला संयोजक विशाल पौडेलले बताए । सरकारले सेनेटरी प्याडमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटवापत राजश्व असुली गर्दै आएको जनाएको छ । विद्यार्थीहरुले सेनेटरी प्याड लगाउनु पर्ने बाध्यता भएको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।







