अपहरण गरेको आरोपमा चार जना पक्राउ
हेटौंडा/अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चारजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले हेटौंडा उपमहानगरपालिका–११ घर भइ हेटौंडा–१० बासुदेवमार्ग बस्ने सुन चाँदी पसल संचालक ४० वर्षीय जीतेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१० बस्ने ३९ वर्षीय बिनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौंडा–२ बस्ने २७ वर्षीय आदेश लामा रहेको डिएसपी रिमालले बताए । उनीहरुलाई प्रहरी टोलीले हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ् समूहको हाताभित्रबाट आइतबार पक्राउ गरेको हो ।
आइतबार नै बिहान ९ बजे बिश्कर्मालाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका ४÷५ जना अपरिचित व्यक्तिहरुको समूहले अपहरण गरेको भन्ने विशेष सूचनाको आधारमाप्रहरीले तत्काल खोजतलास गर्ने क्रममा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ् समूहको कार्यालय अगाडी उक्तकार फेलापारी अपहरण गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अपहरित बिश्वकर्मालाई सकुशल उद्धार गरी पक्राउ गरेकाहरु माथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।







