हेटौंडा उपमहानगरपालिकामा अनियमितता
हेटौंडारअखिल नेपाल फुटबल संघ (एन्फा) को तत्कालीन अध्यक्षहुँदा आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ
(फिफा) ले १० वर्षका लागि प्रतिबन्ध लगाएको गणेश थापालाई हेटौंडा उपमहानगरपालिकाले २५ लाख दिने सम्झौता गरेको छ ।
उपमहानगरपालिकाले थापाद्वारा संचालित नेपाल स्पोर्टस् अर्गनाइजेसनलाई खेलकुद गतिविधिका लागि भन्दै २५ लाख दिने सम्झौता गरेको हो । २०८२ सालसम्म प्रतिबन्धित भएका थापालाई उपमहानगरले खेलकुद गतिविधि गर्ने भन्दै २५ लाखको सम्झौता गर्नु अनियमितता ठहर हुने भन्दै सरोकारवालाहरुले विरोध जनाउन थालेका छन् ।
थापाले बुधबार आफ्नो फेसबुकमार्फत मकवानपुर जिल्लामा फुटबल एकेडेमी सञ्चालन गर्नको निमित्त हेटौंडा उपमहानगरपालिका र नेपाल स्पोर्टस् अर्गनाइजेसन बीच सम्झौता भएको जानकारी दिएका छन् । उनले हेटौंडा उपमहानगर–पालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंसँग सम्झौतापत्र सहितको फोटो राख्दै उपमहानगरको मेयर हरिबहादुर महतलाई धन्यवाद समेत दिएका छन् । तर, आर्थिक अनियमितताको आरोपमा फिफाबाट प्रतिबन्धित थापासँग स्थानीय सरकारले स्पोर्टस एकेडेमी सञ्चालनको लागि सम्झौता गरेको भन्दै उपमहानगरको भूमिकामाथि प्रश्न उठेको छ ।
फिफाले २०७२ सालमा थापालाई सन् २००९ र २०११ को फिफा चुनाव र एसियाली फुटबल महासंघको चुनावमा भ्रष्टाचार गरेको ठहर गर्दै १० वर्षको लागि निलम्बन गरेको थियो । फिफाको निलम्बन फुकुवा हुनुअघि नै उपमहानगरले थापासँग फुटबल एकेडेमी सञ्चालनको लागि सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले आफूले यस विषयमा अहिले तत्काल केही भन्न नसक्ने बताए । उनले भने, ‘हिजो सम्झौता भएको हो । सम्झौता के कसरी किन यसको बारेमा म धेरै भन्न सक्दिनँ, आज मेयर साब आउनु भएको छैन । उहाँ भोली आएपछि मात्रै यसको विषयमा बोल्छु ।’
चौलागाईंले उपमहानगरले फुटबल व्यवसायको विकासको लागि सम्झौता गरेको बताए । यसअघिनै मेयर महतले पत्रकार सम्मेलनमार्फत गणेश थापासँगको साझेदारीमा हेटौंडामा फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा जानकारी गराउन लागेका थिए । फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नहुने भन्दै आलोचना हुने देखिएपछि मेयर महतले सम्झौताको कार्यक्रम स्थगित नै स्थगित गरेका थिए । मंगलबार भएको सम्झौताको विषय थापाले फेसबुकमार्फत जानकारी गराए पछि बाहिर आएको हो ।







