मकवानपुरमा थप ७१ जनामा कोरोना पुष्टि
हेटौंडा-मकवानपुरमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार एकैदिन ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ८० जनाको पीसीआर परीक्षण गर्दा ५४ जनामा र ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका रहेका छन् ।
हेटौंडाका ५१ जनामा संक्रमण पुष्टि भएको हो । भीमफेदी गाउँपालिकाका ९ जना, मनहरी गाउँपालिकाका ७ जना, थाहानगरपालिकाका र मकवानपुरगढी गाउँपालिकाका २÷२ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ८ सय ५५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने ३ जना नै हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १५ हजार ३ सय ३६ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । हेटौंडाका १ सय २० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनैपनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।







