मकवानपुरमा ८७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

साझाकुरा
२०७८ माघ २७, बिहीबार ११:४०

हेटौंडा-मकवानपुरमा कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाउनेको संख्यामा बृद्धि भएको छ । विगतमा कोरोनाविरुद्धको खोप लगाउने संख्या कमि भएपछि प्रशासनले खोप अभियान चलाएको थियो ।
बागमती प्रदेश सरकारको समुदायमा खोप पहुँच पु¥याउने योजनाअन्तर्गत् मकवानपुरका विकट क्षेत्रमा खोप पुगेपछि कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढेको हो । यसअघि राक्सिराङ, कैलाश लगायतका क्षेत्रमा खोप लगाउनेको संख्या न्यून थियो ।

सरकारी कार्यालयमा सेवा लिन अनिवार्य खोप कार्ड देखाउनु पर्ने नियमतले पनि खोप लगाउनको संख्या बढेको छ । जिल्ला प्रशासनसहित केही स्थानीय तहहरुमा सेवाग्राहीले अनिवार्य खोप कार्ड देखाउनु पर्नेछ । खोप कार्ड अनिवार्य भएपछि पनि सर्वसाधारणहरु खोप लगाउन आएको जनाइएको छ ।सरकारले चैतभित्र शतप्रतिशत जनसंख्याले कोरोना विरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारीअन्तर्गत् मकवानपुरमा खोप अभियान भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा सम्बन्धित स्थानीय तहहरुले योजनाबद्ध रुपमा खोप अभियानलाई अगाडि बढाईरहेका छन् ।

अभियान अन्तर्गत् हेटौंडाको मुख्य चोक बुद्धचोकमा एक हप्ते खोप अभियान सुरु भएको छ । बुधबार हेटौंडामा सर्वसाधारणलाई लक्षित गरि एक हप्ते कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।जिल्ला कोभिड–१९ व्यवस्थापन समिति, हेटौंडा उपमहा– नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा खोप सप्ताह सुरु भएको हो ।

कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको प्रजिअ पाण्डेले बताए । फागुन ३ गते सम्म सञ्चालन हुने खोप अभियानमा पुरानो नारायणी यातायात कम्पनी, राडो नेपाल, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युट नेपाल मकवानपुरको सहकार्य रहेको छ ।यसैगरी, देशभर कोभिड–१९ विरुद्ध खोप अभिलेखबारे छानबिन गर्न गठित समितिको निर्देशनअनुसार मंगलबारसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले विवरण दिएका छन् । ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधबारसम्म विवरण बुझाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा ५४ लाख एक हजार ५५० डोज, मधेसमा ५८ लाख ५९ हजार ६१५ डोज, बागमतीमा ८७ लाख ३२ हजार ८०२ डोज, गण्डकीमा ३४ लाख ९७ हजार ६०४ डोज, लुम्बिनीमा ५२ लाख १७ हजार ९८६ डोज, कर्णालीमा १७ लाख ८२ हजार १७० डोज र सुदूरपश्चिममा ३० लाख ६६ हजार ४९० डोज खोप प्रयोग भएको छ ।

सक्रिय संक्रमितको संख्या ८३
हेटौंडा-मकवानपुरमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गइरहेको तथ्यांकले देखाएको छ ।ओमिक्रोनको संक्रमण पुस महिनाभर व्यापक वृद्धि भएपनि माघ दोस्रो हप्तादेखि घट्दै गइरहेको हो । स्वास्थ्य कार्यालय मकवानपुरले बुधवार जारी गरेको तथ्याङअनुसार जिल्लमा हाल सक्रिय संक्रमितको संख्या ८३ जना मात्रै छ । दैनिक रुपमा मकवानपुरमा सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये ५ जना संस्थागत आइसोलेसनमा र ७८ जना होम आइसोलेसनमा छन् । यसैगरी बितेको २४ घण्टाभित्र मकवानपुरमा ८ जनालाई मात्र कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । जसमध्ये २२ जनाको पीसीआर परीक्षण गर्दा ५ जना र २४ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*