टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन प्रमुख खुलालको आग्रह
हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल सरकारले बालबालिकाका लागि पहिलोपटक सञ्चालन गर्न लागेको टाइफाइड बिरुद्धको राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गरेका छन् ।जिल्ला खोप समन्वय समिति मकवानपुरको मंगलबार बसेको बैठकमा प्रमुख खुलालले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाखबालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आव्हान् गरे ।प्रमुख खुलालले सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर खोप अभियान सफल बनाउन आव्हान् गरे । बैठकमा खोप अभियान सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले तयार पारेको कार्ययोजनाबारे जानकारी गराएका थिए । खोप अभियान शुभारम्भ तथा नियमित खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य कार्यालयले तयार पारेको कार्ययोजना मंगलबारको बैठकले अनुमोदनसमेत गरेको प्रमुख खुलालले बताए ।
बैठकमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भीमसागर गुरागाईले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई ७५ लाख बालबालिकालाई लक्षित गरेर सुरु गर्न लागेको खोप अभियानको संघीय सरकारका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिका स्थित भोजसिद्ध माविबाट सुरु गर्नु हुने जानकारी दिए ।अभियानलाई सफल बनाउन अभिमुखीकरण, खोप केन्द्र, प्रचारप्रसार, खोपको उपलब्धता लगायत विषयमा काम भइरहेको उनले बताए । चैत २५ गतेबाट सुरु भएर बैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मकवानपुरका एक लाख आठहजार चारसय ८६ जना बालबालिका लाभान्वित हुने उनले बताए । गुरागाँईका अनुसार जिल्लामा कूल छसय आठ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुनेछ ।
अभियानमा आठसय ७० जना खोपकर्ता र एकहजार तीनसय ९० जना स्यमसेवक परिचालित हुने छन् । निमित्त प्रमुख गुरागाईका अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५० हजार एकसय ६३, थाहा नगरपालिकाका आठ हजार छसय १६, बागमती गाउँपालिकाका छहजार छसय २८, बकैयाका आठ हजार नौसय ४८, मनहरीका १० हजार तीनसय ७२, राक्सिराङका पाँच हजार छसय ९२, कैलाशका चारहजार आठसय ३८, भीमफेदीका चार हजार सातसय ५८, मकवानपुरगढीका पाँचहजार तीनसय ३५ र ईन्द्रसरोवरका तीन हजार २७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिए । उनले लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइनेसमेत जानकारी दिए ।
१५ बर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडको संक्रमण हुने र जटिलता हुने दर उच्च रहेकोले खोप लगाउन अभियाननै सञ्चालन गरिएको गुरागाईले बताए । विश्व स्वास्थ्य संगठनले गुणस्तर प्रमाणित गरेको भारतमा उत्पादन भएको खोप लगाउन लागिएको हो ।खोप पर्याप्त रहेको र अभियानपछि नियमित खोप कार्यक्रममा पनि लक्षित बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने बताइएको छ । बैठकमा जिसस मकवानपुरकी उप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायत सहभागी थिए ।







