२० वर्ष मुनिको उमेर समूहमा गर्भपतन गराउने घट्दै

साझाकुरा
२०७९ श्रावण ४, बुधबार ०९:१७

हेटौंडा- मकवानपुरमा सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका किशोरीहरुको संख्या ११ महिनाको अन्तरालमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याड्ढअनुसार गत आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्तसम्म २० वर्षभन्दा कम उमेरका ४४ जना किशोरीले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये ४० जनाले औषधि प्रयोग गरेका छन् भने ४ जनाले अन्य सर्जिकल विधिबाट गर्भपतन गराएका हुन् । आर्थिक वर्ष २०७७÷७८ मा २० वर्षमुनिका ७२ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याड्ढ छ । आर्थिक वर्ष २०७६÷७७ मा २० वर्षमुनिका १ सय ९७ जनाले गर्भपतन गराएको कार्यालयले जनाएको छ । तथ्याड्ढअनुसार हरेक वर्ष सुरक्षित गर्भपतन गराउने किशोरीहरुको संख्या घट्दो छ ।

तथ्याड्ढले किशोरीहरु कम गर्भवती भएको देखाएको छ । स्वास्थ्यको दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती भएको राम्रो मानिँदैन । उमेर पुगेपछि मात्रै गर्भवती हुनुपर्ने सरकारको जनचेतना अभियानले पनि प्रभाव देखाएको पाइएको छ । मकवानपुरको राक्सिराङ, बागमती, कैलाश गाउँपालिकामा अधिकांश किशोरी निश्चित समय अगावै गर्भवती हुने गरेका घटना छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा सबै उमेर समूहमा गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा १ हजार २ सय ५७ जनाले सुरक्षित गर्भपतन गराएका हुन् । विगतका दिनमा असुरक्षित गर्भपतन गराउनेहरुको संख्या धेरै हुने गरेको थियो । असुरक्षित गर्भपतन गराउँदा धेरै महिलाहरुको अकालमै मृत्यु हुने गरेको थियो ।

सरकारी स्वास्थ्य संस्थाहरुले निरन्तर सुरक्षित गर्भपतन गराउनु पर्नेबारे सचेतना जगाउँदा सुरक्षित गर्भपतन गराउनेहरु बढेको पाइएको हो । गत आर्थिक वर्ष ०७८÷७९ को जेठ मसान्तसम्म जिल्लाको १० वटै स्थानीय तहमा १ हजार २ सय ५७ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जसमध्ये २० वर्षमाथि उमेर समूहका १ हजार २ सय १३ जनाले सुरक्षित गर्भपतन गराएका हुन् । जसमध्ये ९ सय ५४ जनाले औषधी प्रयोग गरेर र २ सय ५९ जनाले अन्य सर्जिकल विधिबाट गर्भपतन गराएको घिमिरेले बताए ।

सामान्यता सन्तानको रहर पुगेर जन्माउन इच्छा नभएका तथा लिंग पहिचान गर्दा आफूले चाहे अनुरुप नभएको अवस्थामा गर्भपतन गराउने गरिएको पाइन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार १ सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । आव २०७६÷०७७ मा १ हजार ८ सय ३१ जनाले सुरक्षित गर्भपतन गराएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । गर्भपतन गर्न चाहानेहरुले औषधीको प्रयोग विधिको बढी प्रयोग गर्ने गरेको तथ्याड्ढबाट देखिएको छ । उनले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ भन्दा २०७८ मा गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको तर, २० वर्षमुनि गर्भपतन गराउनेको संख्यामा भने कमि आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*